‘एसएसबीले होइन’, भनेपछि भारतीय बजारबाट फर्किरहेका कञ्चनपुरका युवकमाथि कसले चलायो पछाडिबाट गोली ?
धनगढीः कञ्चनपुरको दाेधाराचाँदनी नगरपालिका १ का १७ वर्षीय नरेश सुनार गोली लागेर भारतीय क्षेत्रबाट घाइते भई फर्किए। दुबै खुट्टामा गोली लागेका उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ।
तर कसले चलाएको गोलीबाट उनी घाइते भए, भन्नेबारे अझै आधिकारिक पुष्टि हुन बाँकी छ। भारतीय सुरक्षा बल एसएसबीले चलाएको गोलीले घाइते भएको भनिएपनि एसएसबीले सो कुरा इन्कार गरेपछि घटना रहस्यमय समेत बन्न पुगेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अम्मर थापाका अनुसार सो घटना सोमबार बेलुका साढे ६ बजे भएको हो।
घटनाबारे जानकारी गराउँदै प्रहरी नायव उपरीक्षक थापाले भने, ‘घटनापछि स्थलगत अनुसन्धानको लागि हाम्रो प्रहरी टोली गौरीकोट जंगल पुगेको थियो। त्यहाँ एउटा सागुवान प्रजातिको रुखमा आरा अड्किएको छ। उता एसएसबीलाई बुझ्दा आफुहरुको संलग्नता छैन भनेको छ। हामी भारतीय वनरंक्षक सँग बुझ्ने क्रममा छौ। तर अझैसम्म यसको आधिकारिक पुष्टि हुन बाँकी छ।’
प्रहरी नायव उपरीक्षक थापाका अनुसार २ जना भारतीय बजार सामान किन्न गएका थिए। घाइते सुनार सँगै गएका अर्का युवकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले बतायो।
सामान किनेर फर्किने क्रममा पछाडिबाट गोली हानेः घाइते सुनार
उता अस्पतालमा उपचाररत सुनारले आफु सोमबार सीमावर्ती भारतीय बजार गौरीकोटमा दैनिक उपभोग्य सामान किनमेल गर्न पुगेको बताएका छन्। स्थानीय सञ्चारकर्मी सँग कुरा गर्दै उनले आफु ट्राक्टर चालक रहेको र सामान किन्न पारि भारतीय बजार गएको बताएका छन्।
उनले भने, ‘घरको लागि दाल, चामल, चिनी, टमाटर लिएर आउँदै थिए। आउँदै गर्दा बाटोमा रुख काटेको थियो। मेरो अगाडि–अगाडि बल्लु थियो, पछाडि–पछाडि म आइरहेको थिए। पछाडिबाट कसैले डण्डा हान्यो। म लडे। म उठे। गन चलाएको सुने। खुट्टामा गोली लागेछ। म भागेर आउँदै गर्दा पछि अंकल गोकुल चन्दले मलाई लिएर आए।’
गोली चलाउने को थिए जिज्ञासामा उनले अगाडि थपे, ‘रुख ढलेको स्थानमा १०/१२ जनाको समूहले कसैलाई खोजिरहेको थियो। राम्रो सँगे चिन्न सकेन।’
घाइते सुनारका अनुसार उनको घर र सामान किन्न गएको भारतीय बजार आधा किलोमिटरको दूरीमा रहेको छ।
प्रहरीले घटनावारे अनुसन्धान जारी राखेको छ।