विगतमा पनि मन्त्री हुने चर्चा थियो, जिम्मेवारी पाए निर्वाह गरिन्छः प्रमुख सचेतक तारा लामा
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङले आफू मन्त्री हुन सबै किसिमले योग्य र सक्षम रहेको बताएका छन्।
दिनेश एफएमको नागरिक सवालमा आइतबार कुरा गर्दै प्रमुख सचेतक तामाङले मन्त्री बन्ने दौडमा आफु नलागे पनि स्वाभाविक रुपले अरु जस्तै आफूले पनि मन्त्री नै नहुने भनेर घोषणा भने नगरेको बताए।
पार्टीले खटाएको जिम्मेवारी जो कोहीले पनि मान्नु पर्ने हुँदा आफूले पनि मन्त्रीको जिम्मेवारी लिन चाहेको आशय व्यक्त गरे।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा एक ढिक्का रहेको र केही समयपछि मात्रै प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिने उनको भनाइ थियो। अहिलेको तरल अवस्थामा मन्त्रिपरिषद् पुनर्गठन गर्दा झन समस्या आउने सम्भावना रहेकोले केही महिनासम्म सरकारमा मन्त्री थपघट नहुने भनाइ सांसद तामाङको छ।
विगतमा पनि आफू मन्त्री हुने लाइनमा रहेको भएपनि नपरेको तर अब हुने मन्त्रिपरिषद् विस्तारमा आफू समेत सहजै पर्न सक्ने विश्वास तामाङको थियो। प्रदेश सरकारसँग बहुमत सांसद रहेकोले मुख्यमन्त्री र पार्टीले उपयुक्त समयमा सरकार विस्तार गर्ने विश्वास सांसद तामाङको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पद मुक्त गरेपछि पद रिक्त रहेको छ। भने मन्त्रिपरिषद नै फेरबदल हुने चर्चा परिचर्चा हुँदै आएको छ। सुदूरपश्चिम प्रदेश सभामा नेकपा (प्रचण्ड–माधव) समूहको बहुमत रहेको छ। उनी सो समूह अन्तगतको नेता मानिन्छन्।