बझाङमा गाउँको लागि खनिएको सडकले नै गाउँवासीलाई थुन्यो
प्रताप ओली, बझाङ : तल्कोट गाउँपालिका वडा नम्बर १ का विकल्ली र रैसल्ली गाउँमा सडक विस्तार गर्ने क्रममा स्थानीयले हिड्ने बाटो अवरुद्ध भएको छ ।
बाटो अवरुद्ध हुँदा विकुल्ली र रैसल्ली गाउँका ४० जना विद्यार्थीले विद्यालय जान पाएका छैनन् भने स्थानीयवासीलाई पनि बजार जान आउन, घाँस दाउरा जस्ता कार्य गर्न असहज भएको छ । सडक विस्तारका क्रममा खसेको ढुंगामाटोले स्थानीयले हिड्दै आएको पैदल बाटो पुरिएको हुँदा ४ दिनदेखि विद्यालय जान नपाएको सुनिकोट माद्यमिक विद्यालयमा अध्ययनरत छात्रा विनिता कुमारी बमले बताइन् ।
विस्तार हुँदै गरेको सडक र स्थानीयले प्रयोग गर्दै आएको पैदल बाटो भिरैभिरमा भएकाले हिँडडुल ठप्प भएको अर्का स्थानीय पूर्णबहादुर बम्मले बताए । विकल्पमा अन्य बाटाहरु नभएको हुँदा ठूलो समस्या भएको बम्मको भनाई छ ।उनका अनुसार वस्तभाउ चरिचरन लैजाने बाटो पनि त्यही भएकाले गोठमै थुनिएका छन् ।
हाल २५ घरधुरी विकुल्लीमा बसोवास गर्दै आएका छन् भने १० घरपरिपरिवार रैसल्लीमा बसोवास गर्दै आएका छन् । सुदूरपश्चिम सरकारको लगानीमा निर्माणधिन सडकले विकुल्ली र रैसल्लीलाई जोड्ने लक्ष्य छ । यता हालको ठेक्का अनुसार रकम सकिएको र अर्को ठेक्का सम्झौताका लागि आगामी आइतबार १५ दिने सूचना खोलिने तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले बताए ।
उनका अनुसार हाललाई स्थानीयको समस्या हेरि प्राविधिकबाट पैदल बाटो खुलाउनका लागि स्टेमेट ल्याउन शनिबार प्राविधिक पठाइ यथासिघ्र बाटो खुलाउने प्रयास गर्ने गाउँपालिका अध्यक्ष विष्टले बताए । उनले भने, ‘शनिबार मैले प्राविधिक पठाएर बाटोको अवस्था बुझ्नेछौं र आवश्यक रकम निकाशा गरि बाटो खुलाउनेछौं । बाटो बन्द भएकोमा हामी पनि चिन्तित छौं । विकाससँगै विनाश भइहाल्छ ।’