सुदूरपश्चिममा नेकपाका जिल्ला खाता रित्तै ! ‘पैँसा नै नभएपछि के खोसाखोस गर्नू’
धनगढीः पार्टी दुई समूहमा विभाजन हुनु पूर्व नेकपा सुदूरपश्चिमका इन्चार्ज रहेका भीम रावलको निर्देशनमा पार्टीको प्रदेश कमिटिको बैँक खातामा रहेको ३० लाख रुपैयाँ गायब पारिएको भन्दै बुधबारदेखि नेताकार्यकर्ताबीच अर्को विवाद चलिरहेको छ।
आफू नै आधिकारीक भन्दै दुबै समूहले पार्टी कार्यालयमा कब्जा गरि तालाबन्दी जारि राखेका बेला उत्पन्न अर्को विवाद सर्वत्र फैलिएको छ।
प्रचण्ड–नेपाल समूहले बैँक खातामा रहेको रकम आफूखुसी झिकेर दुरुपयोग गर्ने काम भएको भन्दै ओली समूहले विरोध जनाएको छ। इन्चार्ज रावलको निर्देशनमा अपराधिक काम गरिएको टिप्पणी भइरहेको छ।
कृषि विकास बैँक धनगढीमा रहेको नेकपा सुदूरपश्चिमको खातामा रहेको ३३ लाख मध्ये ३० लाख झिकेको दाबी ओली समूहले गरेको छ। इन्चार्ज रावल भने बहुमत प्राप्त पार्टी नै आधिकारीक भएकाले खाताको रकम चलाएको विषयमा आफूलाई गाली गर्नु निकृष्ट कार्य भएको टिप्पणी गरिरहेका छन्।
प्रदेशमा बैँक खाता र त्यहाा जम्मा गरिएको रकमको विषयलाई लिएर दुबै समूहबीच चर्काचर्की भइरहेका बेला नेकपाका ९ वटै जिल्लामा रहेका संयुक्त खाताको बारेमा भने कुनै विवाद नरहेको पाइएको छ।
प्रदेश पार्टी कार्यालयको खाताबाट प्रचण्ड–नेपाल समूहले रकम झिकेपछि जिल्लाहरुमा समेत रकम तानातान हुने अनुमान गरिएको थियो।
तर पार्टीको जिल्ला कमिटिका खातामा रकम नै नभएकाले दुवै समूहबीच विवाद सिर्जना हुने सम्भावना कम देखिएको छ। ओली समूहमा रहेका नेकपा कञ्चनपुरका अध्यक्ष बिरबहादुर थापाले खातामा पैँसा नै नभएकाले विवाद नहुने बताउँछन्।
‘सचिव र मेरो नाममा खाता खोलेको छौँ,’ थापाले दिनेशखबरसँग भने, ‘तर खातामा पैँसा जम्मा भएको छैन्। पैँसा नै नभएको खातामा के खोसाखोस गर्नू, त्यस्तो गर्दैनन् होला!’
थापा ओली समूहमा देखिएका छन् भने सचिव तारालामा तामाङ प्रचण्ड–नेपाल समूहमा उभिएका छन्।
ओली समूहका नेकपा कैलालीका अध्यक्ष रतन थापा पनि खातामा रकम नै नभएकाले जिल्लामा खोसाखोस हुने अवस्था नरहेको बताउँछन्।
‘लुटी खान बानी परेका मान्छेहरुले प्रदेशको खाता कब्जा गरेर रकम झिकेको सुनेको छु,’थापाले भने, ‘जिल्लामा पार्टीको सचिव लालबहादुर सोडारी त्यति गिरेका मान्छे होईनन्। उनले र मैले विवाद गर्ने कुरा हुँदैन्। हामीसँग त्यति धेरैे पैँसा पनि छैन्। कार्यकर्ताबाट लेबी पनि उठाएका छैनौँ।’
प्रचण्ड–नेपाल समूहको एकलौटी बहुमत रहेका जिल्लाहरुमा समेत खातामा रकम नभएकाले कुनै खालको विवाद नहुने दाबी गरिएको छ। प्रचण्ड–नेपाल समूह दार्चुलाका अध्यक्ष गणेशप्रसाद खत्रीले आफू, सचिव र एकजना कार्यालय सदस्य गरि तीन जनाको नाममा पार्टीको खाता रहेको बताए।
उनले आफूहरुसँगै भएकाले खाताको विषयमा कुनै विवाद नै नरहेको दिनेशखबरलाई बताए। तर नेकपाका दुवै समूहतर्फका केही नेताहरु भने निर्वाचान आयोगले कुनै पनि समूहलाई आधिकारीकता नदिएकाले तत्कालै भौतिक सम्पत्तीलाई लिएर अनावश्यक कलह गर्न नहुने पक्षमा समेत उभिएका देखिन्छन्।