काठमाडौँबाट फर्किन नपाउँदै मन्त्री पद गयो, भन्छन्–अराजकता निम्त्याउने काम भयो
धनगढीः पदमुक्त गरिएपछि सुदूरपश्चिमका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री बनेका पठानसिंह बोहराले प्रचण्ड–नेपाल समूहले अराजकता निम्त्याउने काम गरेको आरोप लगाएका छन्।
संघीय राजधानी काठमाडौँमा रहेका बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई पदमुक्त गरेको कुरा सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै प्रचण्ड–नेपाल समूहको दबाबमा परि अराजकता निम्त्याउने काम भएको टिप्पणी गरेका हुन्।
‘मुख्यमन्त्रीसँग आज बिहान मात्र टेलिफोनमा कुराकानी भएको थियो,’ बोहराले दिनेशखबरसँग भने, ‘कुराकानीका क्रममा उहाँले मलाई हटाउँदैछुसम्म भन्नुभएन। ३ वर्षसँगै काम गरेपनि अहिले पूर्व जानकारी समेत नदिएरै पदमुक्त गरिएको छ।’
मुख्यमन्त्रीसँग व्यक्तिगत रुपमा केही नभएपनि प्रचण्ड–नेपाल समूहले देशमा अराजकता निम्त्याउने काम गरिरहेकाले जनताले फैसला गर्ने बेला आएको उनले बताए।
‘म मन्त्रालयकै काम विशेषले काठमाडौँ आएको थिए, पूर्वाधारका योजनामा बजेट अपुग भएकाले त्यसैको व्यवस्थापनमा जुटेको छु,’ उनले भने, ‘पदमुक्त गरेको सुनेपछि पनि सचिव ज्यूलाई सम्पर्क गरि प्रक्रिया अगाडि बढाउन भनेको छु।’
नेकपा विभाजनपछि ओली समूहका मन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले मंगलबार बिहान पदमुक्त गरेका थिए।
उनलाई पदमुक्त गरेसँगै भौतिक पूर्वाधार विकास मन्त्रालय राजनीतिक नेतृत्व विहीन भएको छ। यद्यपी तत्काल मुख्यमन्त्रीले नै उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
सम्बन्धित समाचार
प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिमको भौतिक मन्त्री कसलाई बनाउँदैछ ?
सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त