प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिमको भौतिक मन्त्री कसलाई बनाउँदैछ ?
नेकपा विभाजनको असर
धनगढीः नेकपा विभाजनपछि सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको छ।
ओली समूहबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेको उनको नीजि सचिवालयले पुष्टि गरिसकेको छ।
तर बोहराले भने आफूलाई पदमुक्त गरिएको आधिकारिक पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नथमाएको बताएका छन्।
अहिले संघीय राजधानी काठमाडौँमा रहेका बोहराले दिनेशखबरसँग भने, ‘पदमुक्त गरेको सुनिदैछ तर म कहाँ आधिकारिक रुपमा कुनै पनि आइपुगेको छैन्।’
बोहरा पदमुक्त भएसँगै अब प्रचण्ड–नेपाल समूहले भौतिक पूर्वाधार विकास मन्त्री कसलाई बनाउँला? भन्ने चासो बढेको छ।
कतिपयले मंगलबार नै प्रचण्ड–नेपाल समूहले भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गर्ने अडकल पनि काट्न थालेका छन्।
तर प्रचण्ड–नेपाल समूहभित्र भौतिक मन्त्री बन्ने दौडमा करिब आधा दर्जन प्रदेशसभा सदस्य रहेकाले छिट्टै नियुक्त गरिहाल्ने सम्भवना भने कम रहेको देखिन्छ।
सोही कुरालाई बलपुग्ने गरि प्रचण्ड–नेपाल समूहका एकजना प्रदेशसभा सदस्य भन्छन्, ‘भौतिक पूर्वाधार विकास मन्त्री बन्ने दौडमा ५/६ जना माननीय ज्यूहरु देखिनुभएको छ। तर कसले बाजी मार्छ त्यो यसै भन्न सकिदैन्। केही दिनमा टुङ्गा लाग्छ।’
तर भौतिक पूर्वाधार विकास मन्त्री बन्ने दौडमा नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कल रावल, पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी लगायतका प्रदेशसभा सदस्यहरुले लभिङ तीब्र बनाएको प्रचण्ड–नेपाल समूह स्रोत बताउँछ।
‘पदको लोभ देखाएर अर्को समूहमा जानबाट रोक्ने रणनीति’
सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो छ। ३९ जना प्रदेशसभा सदस्य मध्ये ३४ जना आफूहरुसँगै रहेको दाबी गर्दै प्रदेश सरकार सुरक्षित रहेको दाबी गरिन्छ।
तर ओली समूहले पनि प्रदेशसभा सदस्यहरुलाई आफूतीर तान्ने कसरत जारि राखेकाले पछिल्लो समय त्यो संख्या घटेर २५ मा पुगेको चर्चा पनि चल्न थालेको छ।
मुख्यमन्त्रीले आफ्ना समूहभित्रै अल्पमतमा पर्ने जोखिम रहेको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव गरेको कुरा सार्वजनिक हुनुले पनि ओली पक्ष बलियो हुँदै गएको हो की भन्ने संकेत गर्छ।
तर प्रचण्ड–नेपाल समूहले भौतिक पूर्वाधार विकास मन्त्रीको पदलाई केही समय रिक्त नै राख्ने रणनीति अख्तियार गरिएको जिकिर गरिएको छ।
‘असन्तुष्ट सांसदहरुलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाउँछु भन्ने आश्वासन दिएर अर्को समूहमा जान नदिने रणनीति अन्तरगत तत्काल बोहरालाई हटाइएको हो,’ एकजना प्रदेशसभा सदस्यले दिनेशखबरसँग भने, ‘त्यसैले उहाँहरुले तत्काल भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गर्ने सम्भावना छैन्।’