सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा परिवर्तनको लालटिन बाल्ने ‘लालटिन बाजे’, जो पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई दिन्थे टक्कर

२०७७ पुष ९, ०२:१३ नारायण अवस्थी

धनगढीः बैतडीको सुर्नाया गाउँपालिका मुलखटालीका लालटिन बाजे उर्फ पृथ्वीराज अवस्थी जीवनको उत्तरार्धमा छन्। ८३ वर्षमा पाइला टेकेका उनको उमेर मट्टितेल सकिनथालेको लालटिन झै भएपनि समाजमा उनको योगदान रात्रिमा प्रकाश छरिरहेको लालटिन झै छ। उनी सबैले स्मरण गर्न योग्य छन्।

‘लालटीन बाजे’ उनको राजनीतिक जीवनसँग जोडिएको उपमा हो। अझै हरेक चुनावमा बैतडीका गाउँघर र सहर बजारमा लालटिन बाजेको चर्चा हुने गर्छ। सबैका प्रिय नेता तथा सामाजिक अभियानकर्ता उनै लालटिन बाजे शारीरिक रुपले भने अशक्त भएपनि दूरदराजका ढुकढुकी झै आज पनि छन्।

वि.स. १९९४ सालमा जन्मिएका पृथ्वीराजले आफ्ना पिताको भने अनुहारसम्म सम्झिने गरि देख्न पाएनन्। ९ महिनामै उनले पिताको प्रेमपूर्ण छहारी गुमाए। बाल्यकाल आफ्नो मावलीमा हुर्किएका अवस्थीले जीवनमा हजारौँ समस्या सँग सामना गरेको उनका माइला छोरा गोकर्ण अवस्थी बताउँछन्।

पिताका टुहुरा भएका कारण गरिवीले उनलाई जन्मदेखि नै पछ्याएको स्मरण उनका छोराहरुलाई छ। बि.स. २०३१ देखि २०७० सालसम्म बैतडीमा राजनीति गरेर लामो समयसम्म जिल्लाको राजनीतिको केन्द्रमा रहन सफल भएतापनि आफ्नो र परिवारको अवस्थामा भने उनले कुनै चमत्कारिक परिवर्तन ल्याउन सकेनन्। तरपनि उनका ३ जना छोरा मध्ये कसैले पनि पिताप्रति कुनै गुनासो नगरेको बताउछन् माइला छोरा गोकर्ण अवस्थी।

चुनाव चिन्ह नै नाम
लालटीन बाजे भनेर पृथ्वीराज अवस्थीको नाम रहन पुगेको प्रसंग पनि राजनीति र चुनावसँग जोडिएको छ। पञ्चायत कालमा राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उनको चुनाव चिन्ह लालटीन थियो। चुनाव प्रचारमा हातमा लालटीन बोकेर बैतडीका गाउँ–गाउँ भोट माग्न जाने क्रममा उनको नाम नै लालटिन बाजे रहन गएको भनेर सम्झन्छन् बैतडीको पुर्चौडीका देवदत्त बडु। पञ्चायतका पछिल्ला २ निर्वाचन लडेका अवस्थीको चुनाव चिन्ह लालटीन थियो।

लोकेन्द्र बहादुर चन्दलाई टक्कर
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको संगत र कटु वचनका कारण पृथ्वीराज बाजे राजनीतिमा होमिएका थिए भन्ने गरिन्छ अझैपनि बैतडीमा। पञ्चायतको राजनीतिमा लागे पनि अवस्थीको उम्मेदवारी भने लोकेन्द्रबहादुर चन्दका विरुद्ध हुने गर्दथ्यो भनेर स्मरण गर्दछन् नेकपा बैतडीका नेता कर्णबहादुर कुवँर। 

शोषित, पीडितका पक्षमा अविचलित भएर हरदम उभिने क्षमता र साहस भएका अवस्थी पञ्चायती राजनीतिमा लागेपनि वामपंथी विचार र दृष्टिकोण अनुरुपको चेतनाका धरोहर थिए भनेर कुवँर सम्झन्छन्।

लालटिन बाजेले पञ्चायती चुनावमा लालटीन बोके पनि प्रजातन्त्रको पुनस्र्थापनापछि भने उनले कम्युनिष्ट पार्टीको लाल झण्डा उठाएर ३ वटा आमनिर्वाचनमा सानदार मत ल्याए पनि विजय हासिल भने गर्न सकेनन्। तर २०५६ सालको आमनिर्वाचनमा भने उनले लोकेन्द्रबहादुर चन्द भन्दा बढी मत ल्याउन सफल भएको बताउँछन् गोकर्ण अवस्थी।

बैतडी एमालेको पहिलो पुस्ताका थोरै नेता मध्ये लालटिन बाजे एक थिए। प्राध्यापक आनन्ददेव भट्ट, गंगा पौडेल, धनबहादुर बोहरालगायत बैतडीमा औँलामा गन्न सकिने कम्युनिष्ट मात्रै थिए। 
पृथ्वीराजलगायतका नेताहरुका कारण एमालेको संगठन गाउँ–गाउँसम्म फैलिएको सम्झदै नेकपा नेता कर्ण कुवँर भन्छन, ‘पृथ्वीराज जस्ता नेताहरुको कारण बैतडीमा कम्युनिष्ट आन्दोलन र संगठनले गति लिएको हो।’
संगठन निर्माण र जनजिविकाको सवालमा पृथ्वीराज जहिल्यै निमुखाहरुको पक्षमा रहे भनेर उनलाई नजिकबाट चिन्नेहरुले भन्ने गरेका छन्। बैतडीमा नेकपा एमालेलाई काँग्रेसको प्रतिद्वन्द्वी र राप्रपा भन्दा अगाडि ल्याइ पुर्याउने श्रेय पृथ्वीराज अवस्थीलाई जाने गर्छ भन्ने विश्वास कुवँरको छ।

मतदाता सँग भोट सँगै नोट
सामान्य लेखपढ तर विशाल चिन्तन र विद्रोही स्वभावका पृथ्वीराज अवस्थीले चुनाव लड्दा भोट मात्रै मागेनन्, मतदातासँग चुनाव खर्च नोट समेत मागेको सुनाउँछन् बैतडीकै ७५ वर्षिय दत्तराम अवस्थी। 

उनी थप्छन, अहिले भोटका लागि नेताहरु पैसा बाँड्दै हिड्छन् तर पृथ्वीराजलाई मतदाताले चुनाव खर्च जुटाउन नोट र चुनावको दिन खुशी साथ मतदान गर्ने गर्दथे भनेर पुर्चौडी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगीसिंह साउँद बताउँछन्।

‘बुवासँग पैसा थिएन अनि राजनीतिमा लागेर उहाँले कहिल्यै पैसा कमाएर घर ल्याएनन्। राजनीतिमा व्यस्त भएर होला घरमा हामीलाई पनि त्यति धेरै समय दिन पाएनन्। तरपनि आफूहरुको कुनै गुनासो छैन। डोको बाकेर बैतडी जिल्ला मात्रै होइन राजधानी र देशका थुप्रै जिल्ला भ्रमण गरेर निमुखा वर्गको पक्षमा आवाज उठाएकोमा हामी खुशी छौँ’ गोकर्ण बताउँछन्। हुन पनि पृथ्वीराज अवस्थी नपुगेको गाउँ बैतडीमा सायदै नहोला।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीसँग निकटको सम्बन्ध भएका अवस्थीले २०४८ साल, २०५१ र २०५६ मा एमालेको तर्फबाट टिकट पाएर तीन पटक वहुदलमा र दुई पटक पञ्चायतमा चुनाव लडेपनि जीत भने हासिल गर्न सकेनन्। इमानदार नेता कार्यकर्ता र सर्वसाधारणले मत दिएपनि पार्टीभित्रकै लोभी पापी नेता र कार्यकर्ताका कारण चुनावमा पराजय हुने गरेको ठम्याई माइला छोरा गोकर्णको रहेको छ।

पृथ्वीराजलाई  एमालेको राजनीति परित्याग गर्न बाध्य बनाइएको थियो भन्ने भनाइ नाम बताउन नचाहने नेकपा बैतडीका एकजना नेताको भनाइ रहेको छ। रुदै पार्टी छोड्न अवस्थीलाई तात्कालीन जिल्लाका नेताहरुले विवस बनाएको उनको दाबी छ। जसका कारण अवस्थी द्वन्द्वकालदेखि नागरिक समाज बैतडीको अध्यक्षको भूमिकामा रहे भने दोस्रो संविधान सभाको चुनावमा भने अखण्ड सुदूरपश्चिम पार्टीबाट समानुपातिक उम्मेदवार रहेका थिए।

लालटिन बाजे हाल तेल रित्तिन लागेको लालटीन झै कैलालीको गोदावरी नगरपालिकाको बिजौरामा धिपधिप गरेर बलिरहेका छन्। शारीरिक र मानसिक रुपले निकै अशक्त अवस्थामा रहेका यिनै लालटीन बाजेको धोको भने फेरि एकपल्ट मतदान गर्ने रहेको छ। तर ‘प्रचण्ड या केपी ओली’ कसलाई मतदान गर्ने सवालमा उनी नजवाफ छन्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस