सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा वडाध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैद

२०७७ पुष ८, ०६:३९ खबर संवाददाता

अछाम : जिल्ला अदालत अछामले वडाध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न रहेका स्थानीय ४ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजलासले हत्यामा संलग्न भएको भन्दै स्थानीय प्रेमबहादुर धामी, जीवन धामी, रमेश बहादुर धामी र धर्म बहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका तहसिलदार नारायण पौडेलले जानकारी दिए।

वडाध्यक्ष धामी गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका थिए । मृतक वडाध्यक्षका भाइ सुरत बहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए । उनको हत्यामा सङ्लग्न रहेको आरोप लागेका अन्य ५ जनाले सफाइ पाएको उनले बताए।

मृतक वडाध्यक्ष धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो । शिक्षक पेसाबाट राजीनामा दिएका उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

घटनामा आफ्नै आफन्त संग्लग्न भएकाले हत्यारा पत्ता लगाउन झण्डै एक वर्षको समय लागेको मृतक धामीका भाइ सुरत बहादुर धामीले बताए ।
 

कमेन्ट लोड गर्नुस