सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको व्याँसमा फलेन स्याउ

२०७७ पुष ८, ०३:२८ नरेन्द्र कार्की

दार्चुला: राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन।

विगतमा ३०/४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक/दुई क्विन्टल पनि मुस्किलले फलेन। यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन्।

स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ। धेरैजसो स्याउका बोटमा छिटपुट मात्रै फल लागेको स्थानीय किसान जितसिंह बोहराले बताए।

गाउँपालिकाका स्याउखेती गर्ने किसान बोहराका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन। आफ्नो बगैँचामा भएको स्याउका रुखमा फल छैनन्। उनले भने, “स्याउ फुल्ने बेलामा तुषारो तथा फल लाग्ने बेला असिना परेपछि राम्रो उत्पादन भएन।”

स्याउ बिक्री गरेर गुजारा चलाउने बोहरा यस वर्ष उत्पादनमा कमी आएकाले चिन्तित छन्। उनले भने, ‘‘विगतमा छाङ्गरुको स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गथ्र्यौं, यो पटक आफूलाई खान पनि पुगेन।’’ उनको बारीमा यो वर्ष जम्मा २५० बोटमा मात्रै केही स्याउ फलेको छ।

केही समयअघि परेको असिनापानीले पनि नोक्सान भएको उनले बताए। यो वर्ष १०/१२ क्विन्टल स्याउ उत्पादन हुने आशा गर्नुभएका उहाँको बारीमा दुई क्विन्टलको हाराहारीमा स्याउ फलेको छ। 

जिल्लाका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउखेती हुने गर्दछ। यो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ क्षेत्र कार्यक्रमसमेत लागू गरिएको छ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस