बुवाकाे चितासँगै जल्यो बेसहारा बनेका बालकको मन !
धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक शुक्रबार विहानै मृत अवस्थामा भेटिए। बिहीबार बेलुका मदिरा सेवन गरेर घर पु्गेका उनी शुक्रबार बिहान उठ्न सकेनन्।
श्रीमतीले ३ वर्ष पहिले २ छोराछोरी लिएर अर्को बिहे गइसकेपछि उनको अन्तिम संस्कार गर्ने केवल एक छोरा मात्र थियो, ८ वर्षीय सम्रट विक।
मलामी गएका उनले बुवाको मृत्यु भएको भनेर पत्याइरहेका थिएनन्। केवल एकोहोरो चितामा हेरिरहेका थिए। ‘जब बुवा चितामा जलिरहेका थिए। सम्राट एकोहोरो बुवा जलिरहेको चितामा टोलाइरहेका थिए। जसरी चित्ता दनदनी जलिरहेको थियो, त्यसरी नै उनको मन पनि जलिरहेको थियो।’ मलामी गएका मध्ये एक जनाले भने। आफुहरुले बालकलाई धेरै सम्झाउन खोज्दा पनि ती बालकले केवल भावुक बनेर चिता हेरेको उनले बताए।
उक्त भावुक तस्बिर राख्दै पत्रकार महासंघ बाजुराका सचिव प्रेम विकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अब यो ८ वर्षीय बालक आफ्ना बाबाको चिता जलिरहेको रापले जीवनभर न्यानोपनको महसुस कसरी गर्ला भन्ने प्रश्न समाजका अगाडी उभिएको छ। लगभग ३ वर्ष अघि यो नाबालकसहित ३ छोराछोरी छोडेर अर्को पोइल गएकी पत्नीको पिडाले रन्थनीएको युवा(लालबहादुर विक)ले अस्ति साँझ जीवनको अन्तिम स्वास लिँदै गर्दा ७० आसपासका बुढा बुवा र यो नाबालकका बारेमा अलिकति पनि सोचेको भए हुने नि !’
साथै उनले ती बेसहारा नाबलकलाई सहयोग गर्न समेत अनुरोध गरेका छन्। उनका अनुसार सहाराको रुपमा रहेका बुवाको मृत्युपछि सम्राट विकको बिच्चली भएको छ।
स्थानीयका अनुसार सम्राटकी आमा बडीमालिका नगरपालिका कोर्धका एकजना युवासँग बिहे गरेर अहिले भारतको सिम्लेपहाडमा बस्ने गरेकी छिन्।