टीकापुर घटनामा जन्मकैद सुनाइएका ४ जनालाई ५ वर्ष कैद, १ जनालाई सफाइ
धनगढीः टीकापुर घटनामा जिल्ला अदालत कैलालीको फैसला विरुद्व परेको पुनरावेदमा उच्च अदालतले जन्मकैद सुनाइएका ४ जनालाई ५ वर्ष मात्र कैद सजाय तोकेको छ।
जन्मकैदको सजाय तोकिएका सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई जनही ५ वर्ष कैद सजाय हुने फैसलामा उल्लेख छ।
तर जन्मकैदको फैसला सुनाइएका प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहितका ७ जनाको हकमा भने जिल्ला अदालतकै फैसला सदर भएको छ।
जसअनुसार रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेतका ७ जनालाई यसअघी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३, (३) अनुसार तोकिएको जन्मकैद हुने र सो महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय यथावथ रहेको उच्च अदालत दिपायलले जनाएको छ।
जिल्ला अदालतले ३ वर्ष कैद सजाय सुनाएपछि कैद भुक्तान गरि छुटेका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएको छ। यस्तै ३ वर्ष कैद सजाय सुनाएका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमलाल चौधरीलाई पनि उच्च अदादतले ५ वर्ष कैद सजाय सुनाएको छ।
३ वर्ष कैद सजाय सुनाएका प्रतिवादी सन्तोश चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीको फैसला उल्ट्याउँदै १० वर्ष कैद तोकिएको छ।
नाबालक श्रवणकुमार चौधरीको हकमा पनि जिल्लाकै फैसला सदर भएको छ। जन्मकैदको सजाय सुनाइएका चौधरी नाबालक भएकाले उनलाई आधा मात्र कैद सजाय तोकिएको छ।
३ वर्ष कैद सजाय तोकिएको विश्राम चौधरीलाई भने उच्च अदालतले सफाई दिएको छ। यस्तै अन्य प्रतिवादीको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरिएको छ।
थरुहट थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ मा टीकापुरमा ७ सुरक्षाकर्मी र एकजना नाबालकको ज्यान जानेगरी भएको घटना सम्बन्धि मुद्दामा फैसला गर्दै यसअघि जिल्ला अदालत कैलालीले २०७५ को फागुन २२ मा रेशमचौधरीसहितका ११ जनालाई जन्म कैदको सजाय सुनाएको थियो।