सुदूरपश्चिममा ‘नयाँ बिहानी ल्याउने पुल’ उद्घाटनको २७ वर्ष पूरा, विकासको प्रतिफल कहाँ-कहाँ पुग्यो?
कर्णाली चिसापानी: सुदूरपश्चिम प्रदेशलाई सडकमार्फत बाँकी नेपालसँग जोड्दै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको कर्णाली चिसापानी पुलको विधिवत उद्घाटन भएको आइतबार २७ वर्ष पूरा भएको छ।
सम्भवत: धेरै सुदूरपश्चिमवासीले कर्णाली पुलको वर्षगाँठको यो अवसर स्मरण गरिरहेका छैनन्। कर्णाली चिसापानी पुलको समुद्घाटन आजकै दिन २०५० साल मंसिर २८ गते (सन् १९९३ डिसेम्बर १३) तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले गरेका थिए।
नदीको एकापट्टी ठड्याइएको १२० मिटर अग्लो टावर र त्यसबाट दुवैतर्फ झारिएका मोटा फलामे तारले धानेको संरचनामाथि निर्माण गरिएको दुर्लभ स्वरूपको यो पुलले त्यतिबेला धेरै नेपालीको ध्यान कर्णालीतर्फ खिचेको थियो। यो आकर्षक पुलको उद्घाटनको खबरलाई नेपालका कुना कुनामा निकै चासोका साथ हेरिएको वा पढिएको थियो।
प्रश्न उठ्न सक्छन्: निर्माण पूरा भएको २७ वर्षमा कर्णाली चिसापानी पुलले सुदूरपश्चिम प्रदेशलाई के दियो त? यो पुलकको प्रतिफल कहाँ-कहाँ पुग्यो? अनि कहाँ-कहाँ पुलले बढाएको सम्पर्कको प्रतिफल अझै पुग्न बाँकी होला?
कर्णाली चिसापानी पुलले महेन्द्र राजमार्ग पनि भनिने पूर्व-पश्चिमराजमार्गको पश्चिम खण्डको पुल अभावलाई अन्त्य मात्रै गरिदिएन। त्यसले बर्दिया र कैलालीसँगै मध्य र सुदूरपश्चिम क्षेत्रलाई जोडिदियो र तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको भारत-निर्भरता उल्लेखनीय रूपमा घटाइदियो।
सुदूरपश्चिमका जानकारहरूका अनुसार कर्णाली चिसापानी पुल बनेपछि डुङ्गा चढेर वा भारतको बाटो बाँकी नेपालसँग जोडिन बाध्य सुदूरपश्चिमका मानिस सहज रूपमा देशका अन्य भूभागसँग जोडिन पाए। बाँकी नेपालका बासिन्दा पनि सहजै सुदूरपश्चिम आउँन सक्ने भए र देशभित्रको आन्तरिक व्यापार र बाणिज्य पनि सहज हुन थाले।
सुदूरपश्चिममा नयाँ बिहानी
त्यसैले २०५० साल मंसिर २८ गते अर्थात् कर्णाली चिसापानी पुल खुलेको दिनले सुदूरपश्चिमका लागि ठूलो महत्त्व राख्ने नै भयो। डोटीमा जन्मिएका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर चेतराज पन्तको भनाइमा कर्णाली चिसापानी पुलले सुदूरपश्चिममा साँच्चै नयाँ बिहानी ल्याइदियो।
उनले दिनेशखबरसँग भने, ‘कर्णाली पुल बन्नु अघि हामीले धेरै नै दु:ख पायौँ। डुङ्गामा नदी तर्दा ज्यान जाला कि भन्ने जोखिम थियो। वर्षामा त त्यो पनि सम्भव हुने थिएन र हामी भारतमा गएर धेरै दिन लगाएर धेरै खर्च गरेर नेपालका अन्य भूभाग पुग्नु पर्दथ्यो। पूर्वाधारका हिसाबले यो पुलले धेरै महत्त्व राख्छ।’
धेरै सुदूरपश्चिमवासी उनीसँग सहमत छन्।
डाक्टर पन्तको विचारमा सुदूरपश्चिम जोड्ने पुल बनेपनि तराईका कैलाली, कञ्चनपुर र पहाडका डडेलधुरा र डोटीले केही प्रतिफल पाए। ‘तर त्यो पुलले बढाएका आर्थिक र सामाजिक गतिविधिको प्रतिफल पहाडका दार्चुला, बझाङ, बाजुरा र अछाम जस्ता जिल्लाहरूले अझै पाउन सकेका छैनन्।
‘त्यसतर्फ काठमान्डूको पनि ध्यान जान सकेको छैन।’
नेपाल-भारत सहयोग अन्तर्गत बनाइएको कोहलपुर-बनबासा सडकको झन्डै बीचमा पर्ने स्थान नजिकै पर्ने कर्णाली चिसापानी पुलको निर्माण पनि विदेशी सहयोगमा भएको थियो। ५०० मिटर लामो कर्णाली पुलको निर्माण जापानको कावासाकी हेभी इन्डस्ट्रिजले गरेको थियो, जसको निर्माण पूरा हुन ६ वर्ष लागेको थियो।
कर्णालीमा धेरै पानी बग्यो
कर्णाली चिसापानी पुल सञ्चालनमा आउन थालेको २७ वर्षपछि कर्णाली चिसापानी पुल आफैँमा एउटा पर्यटकीय गन्तव्य बनेको छ।
तर पुल मुनिबाट बग्ने नेपालकै सबैभन्दा लामो कर्णाली नदीबाट धेरै पानी बगिसकेको छ। सवारीसाधनको चाप बढिसकेको छ। जनसङ्ख्या पनि बढिसकेको छ, औद्यौगीकरण बढ्दो छ। त्यसैले अहिलेको बदलिँदो परिवेशमा पूर्व पश्चिम राजमार्गसँगै कर्णाली र अन्य पुल चार लेनको बनाउने समय आइसकेको देखिन्छ।
सुदूरपश्चिममैँ जन्मिएर देश विदेशमा विमान उडाएका विमान चालक बेद उप्रेतीको विचारमा कर्णाली चिसापानी पुलले सुदूरपश्चिमवासीको जीवन सहज बनाइदिएपनि अब त्यसको स्तरोन्नति गर्ने बेला भइसकेको छ।
उप्रेतीले दिनेशखबरसँग भने, ‘कर्णाली पुल यहाँको लाइफलाइन (जीवनको आधार) हो। यसले यातायात सहज बनाइदियो, हामीलाई बाँकी देशसँग जोडिदियो। तर राजमार्ग अहिले दयनीय अवस्थामा छ। अब राजमार्गसँगै पुलहरू पनि चार लेनको बनाउने बेला भइसक्यो।’
पूर्व-पश्चिम राजमार्ग ‘चार लेनको’
तराई र भित्री मधेशबाट अघि बढ्ने १ हजार ०२८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गले पूर्वको मेची नदीलाई पश्चिमको महाकाली नदीसँग जोड्छ। विभिन्न देशहरूको सहयोगमा २०१९ सालदेखि निर्माण थालिएको त्यो राजमार्ग महाकालीसँग जोडिएपछि त्यसले खासगरी दक्षिण नेपालको आर्थिक सामाजिक विकासको तस्बिर नै बदलिदिएको पाइन्छ।
त्यसले सुदूरपश्चिमको खासगरी समथर भूभागको तस्बिर पनि केही बदलिदियो।
देश जोड्ने त्यस्तो राजमार्ग चौडा हुनु पर्ने अनुभव हुन थालेको बेला नेपाल सरकारको सडक विभागले पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउने काम पनि सुरु गरिसकेको छ। त्यस अन्तर्गत पूर्व र पश्चिमका विभिन्न खण्डका लागि टेन्डर भई ठाउँ-ठाउँमा काम पनि चलिरहेका छन्। मध्य र सुदूरपश्चिम क्षेत्रमा राजमार्ग विस्तारको काम सुरु भइसकेको छैन।
विगतमा जस्तै फेरि पनि अन्तर्राष्ट्रिय ऋण सहयोगमैँ बन्न लागेको चार लेनको पूर्व-पश्चिम राजमार्गमा पर्ने कर्णाली चिसापानी जस्ता पुलहरू चौडा बनाउने वा नवनिर्माण गर्ने विषयमा भने सरकार अझै प्रस्ट भइसकेको छैन।