सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरका २१० विद्यार्थीलाई ज्याकेट र जुत्ता वितरण

। फोटो स्रोत ।
२०७७ मंसिर २६, ०५:५० रासस

टीकापुर : कैलालीको टीकापुर नगरपालिका–४ स्थित जनप्रकाश आधारभूत विद्यालय बाघमारामा अध्ययनरत २१० जना विद्यार्थीलाई जाडोमा लगाउने ज्याकेट र जुत्ता वितरण गरिएको छ । 

चिसो मौसम सुरु भएपछि जाडो छेक्न सजिलो होस् भनी ज्याकेट र जुत्ता वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । वडा कार्यालयको सहयोगमा विद्यार्थीलाई ज्याकेट र जुत्ता वितरण गरिएको वडाध्यक्ष लालवीर चौधरीले बताए । 

“विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत २१० जनालाई आवश्यक सामग्री वितरण गरिएको हो”, वडाध्यक्ष चौधरीले भने, “विद्यालयमा विपन्न बस्तीका बालबालिका अध्ययन गर्छन्, उनीहरुलाई केही राहत होस् भन्ने उद्देश्य हाम्रो हो ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठग्गु चौधरीले जाडोमा ज्याकेट र जुत्ता भएमा विद्यार्थीको नियमित उपस्थिति रहने बताए । “कति विद्यार्थी जाडो छेक्न नसकेर विद्यालय आउँदैनन्”, अध्यक्ष चौधरीले भने, “यस्तो बेला विद्यार्थीलाई ठूलो राहत भएको छ ।”

कमेन्ट लोड गर्नुस