सुदूर नेपाललाई विश्वसँग जोड्दै

पठनपाठन प्रभावित भएको भन्दै बाजुराका विद्यार्थीले शिक्षकहरुलाई कार्यकक्षमै थुनिदिए

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर २१, ०२:५४ खबर संवाददाता

बाजुरा: बाजुराको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। बडीमालिका नगरपालिका–७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आइतबार विद्यालयमा ताला लगाएका हुन।  

कोभिड–१९ का कारण ८ महिनासम्म पठनपाठन नभएको, विद्यालयमा प्रयाप्त रुपमा शिक्षक नभएको, विद्यार्थीले पुस्तक नपाएको लगायतका मागसहित तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी उपेन्द्र पण्डितले बताए। 

आफुहरुले पटकपटक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिमा शिक्षकको माग गर्दापनि कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरेको उनले बताए। 

तालाबन्दीका कारण शिक्षकहरु कार्यकक्षमै थुनिएको प्रधानाध्यापक लालचन्द्र जैशीले बताए। प्राथनापछि शिक्षकहरु हाजिर लिन प्रशासनमा गएको मौका छोपेर विद्यार्थीहरुले बाहिरबाट ताला लगाएर थुनेको उनले बताए।  

तालाबन्दीपछि बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक  सहितको प्रहरी टोली विद्यालयमा गएको छ।  

विद्यालयमा पुगेर विद्यार्थीका मागबारे छलफल गरिने र समस्याको समाधान निकालिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले बताए।  


 

कमेन्ट लोड गर्नुस