सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पसलैपिच्छे ग्यासको फरक मूल्य, उपभोक्ता मारमा

२०७७ मंसिर २१, ०२:२१ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा:  डडेल्धुरामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ। यहाँका ग्यास डिलरले एक मूल्य तथा सबडिलरले अर्को मूल्य लिई ग्यास बिक्री वितरण गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन्। पसलैपिच्छे ग्यासको फरक मूल्य लिन थालिएपछि उपभोक्ता मारमा परेका छन्।  

जिल्लाको बागबजार, तुफानडाँडा, किर्तीपुर, विद्युतरोड र पोखरा बजारमा खाना पकाउने एलपी ग्यासको मूलय फरकफरक रहेको अमरगढी नगरपालिकाका स्थानीय मिनबहादुर थापाले बताए। ‘डिलर र सवडिलर मै ग्यासको मूल्य फरक छ, जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने’ उनले भने।  फरकफरक मुल्यका कारण उपभोक्ता ठगिँदै गरेको उनले बताए। 

यहाँका ग्यास डिलरले जिल्लामा पाइने सैपाल, भेरी, मनकामना तथा रेडिएन्ट ग्यास थोकमा बिक्री गर्दा १ हजार ३ सय ७५ लिन्छन्। यस्तै फुटकरमा बिक्रि गर्दा उनीहरुले १ हजार ४ सय ७५ तथा १ हजार ५  सयसम्म  लिने गरेका छन्। 

तर उपभोक्ताले सोही ग्यास सवडिलरबाट किन्दा १ हजार ५ सय ५० सम्म तिर्नुपरेको थापा बताउँछन्। ‘ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा बिक्रि गर्नुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्। यो विषयमा कसैले पनि चासो देखाएका छैनन्’ उनले भने। 

उता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल भने सरकारले तोकेको रकम भन्दा बढीमा ग्यास बिक्री गर्ने व्यापारीलाई कारवाही गर्ने बताउँछन्। ‘ग्यासमा सरकारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन। यसरी पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गर्नेछौ’ उनले भने।  

उक्त विषयमा अनुगमनसहित जानकारी लिन र कारवाहीका लागि आफुले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अर्याले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस