सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका द्वन्द्व पीडित भन्छन, "कहाँ भेटिएलान बेपत्ता पारिएकाहरु"

फाईल फोटो
फाईल फोटो
२०७७ मंसिर २०, ०८:२२ रासस

दार्चुला- भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो । कैलालीबाट जागिरे जीवन शुरु गरेका थिए । जागिर भएपछि घरपरिवार सबै खुशी थिए, शैल्यशिखर नगरपालिका–६ घर भएका बिर्खसिंह धामी परिवार तर त्यो खुशीको सीमा धेरै टिक्न सकेन । कैलालीको भृकुटी निमावि पदौनमा कार्यरत रहेको बेला विसं २०५८ मा धामी बेपत्ता भए ।

अहिले पनि परिवारको आँखाभरि आँशु भिजेको छैन । विद्यालयबाटै बेपत्ता भएका शिक्षक धामीका बारेमा विद्यालयले समेत परिवारलाई जानकारी नगराएकामा पीडित परिवारको गुनासो छ । पीडितका दाई राजेन्द्रसिंह धामी भन्छन, “बेपत्ता भएपछि न त विद्यालयले जानकारी गरायो, न तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट नै जानकारी भयो ।”
 
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितका आफन्तको कुरा सुनौँभन्दा धामीको गाला अबरुद्ध हुँदै थियो । आक्रोश त धेरै छन, तर अहिलेसम्म भाइको अवस्था के हो ? कसैको रेकर्डमा छैन । राज्यबाट पाउनुपर्ने सेवासुविधा केही पाउन सकिएको छैन ।

मालिकार्जुनका नन्दा पार्कीको श्रीमान दिलुराम पार्की गुमाएको पीडा पनि कम्ता छैन । आफ्नै अगाडि माओवादीले लिएर गएका पार्कीको अवस्था अज्ञात छ । घरबाटै अभियानमा हिँड भन्दै माओवादीले अपहरण गरिएका पार्की कहिल्यै घर फर्किएनन । घर फर्किने आशामा दशकौँ बित्यो, तर न लाश देख्न पाए, न त सास पाए ।

शैल्यशिखर नगरपालिका–९ का नरेन्द्र भण्डारी विसं २०६२ मा बैतडीको पिपलकोटबाट बेपत्ता भए । गोकुलेश्वरमा राम्रै व्यापार फस्टाएको थियो । भर्खर बिहे गरेका थिए । बिहे गरेपछि घरजम राम्रै जमाउने इच्छा थियो भण्डारीको । तर पिपलकोट नजिकै तत्कालीन शाही सेनाको गस्ती आएको थाहा पायौँ, बेपत्ता भण्डारीका दाजु कर्णबहादुर भण्डारीले भन्छन, “त्यही पिपलकोटबाट बेपत्ता भएका भाइको अवस्था थाहा छैन । भाइ बेपत्ता भएपछि उहाँकी श्रीमती दोस्रो बिहे गरेर गइन ।

“भाइको अवस्थाबारे अहिलेसम्म जानकारी छैन । द्वन्द्वपीडित भनेर पनि कहीँ उल्लेख छैन । कम्तीमा भाइको मृत्यु भएको भनेर भनिदिए पनि परिवार ढुक्क हुने थियो । क्षतिपूर्ति त के माग्नु, लाश नै छैन भने”, उनले सुनाए । बेपत्ता आयोगका सामु उहाँले पूरै पीडा भन्ने हिम्मत नै गर्नुभएन । गाला अबरुद्ध भएपछि उहाँले भन्नुभयो, “भाइको अवस्था के हो जानकारी गराइदिनु ।”

देशको रक्षाका लागि लड्दालड्दै घाइते हुनुभएका रामदत्त विष्टको अहिले पनि घाइते हुँदा लागेको गोलीको घाउँ ताजै छ । “देशका लागि लडे, अपाङ्ग भएँ, तर राज्यले हामीजस्ता योद्धाका लागि केही हेरिदिएन”, उनले सुनाए । गोलीको घाउ ताजै छ, विसं २०५८ मा सँगैका कयौँ साथीको ज्यान गयो, आफू घाइते भएर बाँचे, परिवार १० वर्षसम्म विस्थापित भयो । घरमा रहेको धन सम्पत्ति बाहिर ल्याएर जलाइदियो । छोरालाई लुगामा बेरेर बचाइयो । देशको लागि यति सङ्घर्ष गर्दा पनि राज्यले हामीजस्ता विस्थापित र द्वन्द्वपीडितका लागि केही गर्न नसकेकामा विष्टको आक्रोश छ ।
 
हाम्रो मर्म कसले बुझिदिन्छ, घाइते भएर अपाङ्ग भएपछि रु तीन हजार ८०२ लिएर अशक्त अवकाशमा घर फर्किएको हँु । त्यो बेलादेखि अहिले हामीले पाउनुपर्ने सेवा सुविधा पनि राज्यले घटाइदिएको प्रति उहाँले दुखेसो गर्नुभयो । द्वन्द्वपीडितले न्याय पाउनुपर्छ उनकोे माग छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार विसं २०५२ देखि २०६३ सम्म दार्चुलाबाट २० जना बेपत्ता भएको भन्दै उजुरी परेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीले अहिलेको सूची प्रारम्भिक मात्रै भएको भन्दै नामहरुमाथि सत्यतथ्य छानबिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आयोगमा परेका उजुरीमाथि विस्तृत अध्ययनको अन्तिम चरणमा पुगेका छाँै । सबै जिल्लामा पुगेर उनीहरुको अवस्था, नामबारे जानकारी लिने काम गरिरहेका छौँ ।”

छानबिनपछि उनीहरुको शव गाडिएको स्थल खोजी गरेर म्युजियम अथवा उनीहरुको शालिक बनाउन प्रेरित गरिने अध्यक्ष सुवेदीले बताए । “आयोगले निष्पक्ष भएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “छानबिनको क्रममा जोसुकै पीडक देखिए पनि कारवाहीका लागि सिफारिस गरिन्छ ।” उनले भने, “राज्यले पीडितका लागि केही न केही गर्नैपर्छ, पीडितले राज्यपक्षबाट केही पाएको छैन भनेर सोच्नु हुँदैन । पीडितलाई अपहेलित नहुने गरी न्याय निरुपण गर्छौँ ।”

कैलालीका द्वन्द्व पीडित भन्छिन्,‘बालबच्चा खै बाबा भनेर सोध्छन्’

कमेन्ट लोड गर्नुस