सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कोभिड अस्पतालमा ५० शैया थप्न टेण्डर, रुख बाधक हुने चिन्ता

२०७७ मंसिर १८, ०७:४८ जनक विष्ट

धनगढीः धनगढीको कोरोना अस्थायी अस्पतालमा थप ५० शैया विस्तार गर्न झण्डै साढे २ करोडमा ठेक्का आह्वान गरिएको छ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको कोभिड अस्थायी अस्पतालमा थप ५० शैया बिस्तारका लागि ठेक्का आह्वान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बजेटको सुनिश्चितता पाएपछि अस्पतालका शैया विस्तारका लागि प्रक्रिया थालिएको बताए। 

उनले करिब २ करोड ३१ लाखको लागतमा निर्माण हुने अस्थायी अस्पताल भवनका लागि इ–बिडिङ गरिएको जानकारी दिए।  

कोभिड अस्थायी अस्पतालको शैया विस्तारका लागि ठेक्का आह्वान गरिएपनि निर्माण स्थलमा परेका रुखका कारण काम प्रभावित हुने चिन्ता गरिएको छ।

साबिक जिल्ला विकास समितिको स्वामित्वमा रहेको सो जग्गामा यसअघि ५० शैयाको कोभिड अस्थायी अस्पताल निर्माण गर्दा रुख बाधक नबनेपनि थप शैया विस्तारका लागि रुख काट्नुपर्ने देखिएको छ। 

 

ती रुख हटाउन डिभिजन वन कार्यालय धनगढीलाई सिफारिस गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख धामीले बताए। 

उनले वनलाई यो बीचमा २ पटकसम्म रुख कटानी सहमतिका लागि पत्र पठाइसकेको बताए। तर अन्य प्रक्रिया अघि बढेका छैनन्। 

तर डिभिजन वन कार्यालयले प्रमुख वन अधिकृत काम विशेषले जिल्ला बाहिर रहेकाले सो बारेमा जानकारी नभएको बताएको छ। 

प्रमुख वन अधिकृत रामचन्द्र कडेलले पनि आफू फर्किएपछि मात्र सो विषयमा प्रतिक्रिया दिने बताए। 

तर कुनै पनि सार्वजनिक स्थलमा रहेका रुख काट्न सोही निकायको माथिल्लो तहबाट सहमती आवश्यक पर्ने बताउँदै कडेलले ती प्रक्रिया पुगेपछि वनले रुख कटानीका लागि आदेश दिने जनाए। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने चिसो मौसममा संक्रमणको दर बढ्ने कुरालाई ध्यानमा राखेर अस्पतालका शैया विस्तार गर्न लागेको जनाएको छ। 

गम्भीर संक्रमितका लागि सघन उपचार कक्ष आइसीयू र भेन्टिलेटर सेटअप सहितको ५० शैया विस्तार गरिरहेकाले अहिले बनेको भन्दै व्यवस्थित संरचना निर्माण हुनेसामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्की बताउँछन्।

उनले यसअघि कोभिड अस्थायी निर्माण गर्ने क्रममा आईसीयू र भेन्टिलेटर सेटअप नरहेको बताउँदै अहिले ती सबै सुविधासहित शैया विस्तार गर्ने योजना बनाइएको जनाए। 

तर कोभिड अस्थायी अस्पतालको शैया विस्तार मात्र नभएर उपकरण र जनशक्ति थप्नमा समेत सम्बद्ध निकायले ध्यान दिनुपर्ने सुझाव दिइएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस