सुदूर नेपाललाई विश्वसँग जोड्दै

'लैंगिक हिंसा न्यूनीकरण गर्न व्यवहार परिवर्तन आवश्यक'

२०७७ मंसिर १६, ०७:२८ खबर संवाददाता

डडेल्धुरा: देशभर लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेलासमेत लैंगिक हिंसाका घटनाहरु बढदै गएकाले जनचेतनामुलक कार्यक्रमसँगै व्यवहार परिवर्तन हुनसके मात्रै हिंसा न्यूनीकरण गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। 

डडेल्धुरामा लामो समयदेखि घरेलु हिंसाबिरुद्धको अभियान सञ्चालन गरिरहेको गैर सरकारी संस्था ग्रामीण महिला विकास तथा एकता केन्द्र(रुडुक) ले मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले हरेक घरबाट लैंगिक समानताको सुरुवात गर्नुपर्ने सुझाएका छन्। 

राज्य संरचनामा महिला जनप्रतिनिधीहरुको संख्या बढ्दै गए पनि निर्णायक तहमा महिला सहभागिता हुन नसक्दा लैंंगिक विभेद र हिंसाका घटनाहरु बढदै गएको कार्यक्रममा सहभागीहरुको निष्कर्ष छ। कार्यक्रमका सहभागीहरुले जनचेतनामुलक अभियानसँगै व्यवहार परिवर्तनका लागि ठोस योजना लिएर काम गर्नुपर्ने औल्याएका छन्। 

रुडुक डडेल्धुराकी अध्यक्ष मानकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक सरस्वती खडकाले स्वागत मन्तव्य व्यक्तगर्दै डडेल्धुरा जिल्लामा लैंगिक हिंसाका घटनाहरु बढदै गएको अवस्थामा न्यूनीकरणका लागि सबै सरोकारवालाहरुले एकतावद्ध किसिमले ठोस योजना ल्याएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताइन्।

कार्यक्रममा डडेल्धुरा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता थियो।
 

कमेन्ट लोड गर्नुस