सुदूर नेपाललाई विश्वसँग जोड्दै

३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

। फोटो स्रोत ।
२०७७ मंसिर १५, ०७:१४ रासस

काठमाडौँ : सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ शैयाको अस्पताल बनाउनका लागि थालेको हो । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नेछन् ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नेछन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनालले सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्नेछन् ।

यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन् । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए ।

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेछन् ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो । 

प्रदेश नम्बर १ मा ३२ स्थानीय तहमा, प्रदेश नम्बर २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैययाको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको हो । 

पाँच शैयाको अस्पतालका लागि ७० लाख, १० शैयाका लागि ८५ लाख र १५ शैयाका लागि एक करोड पठाइसकिएको छ ।

कमेन्ट लोड गर्नुस