सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनासँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल नखुवाउन आग्रह

२०७७ मंसिर ११, ०५:०४ खबर संवाददाता

काठमाडौं: सरकारले कोराना भाइरससँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ’ए’ को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । 

भिटामिन ’ए’ क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । 

ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत सर्वसाधरणसम्म पुर्याउन स्वास्थ्य मन्त्रालयले भनेको छ । आज र भोलि राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम देशभर सञ्चालन हुँदैछ । यसअघि कात्तिक महिनामा नै भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने गरिएपनि यसपटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।

परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिङ तिङ्करीले आज र भोलि देशभरि नै भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने जानकारी दिए ।  

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन  । 

६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने डाक्टर तिङ्करीले बताए ।  

कोरोना संक्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप अहिलेलाई भने स्थगित गरिएको छ । 

कमेन्ट लोड गर्नुस