सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रोकिएन महिलाविरुद्ध घरेलु हिंसा, अवस्था यस्तो

महिला हिंसाविरुद्धको १६ दिने अभियान

सांकेतिक तस्विर
सांकेतिक तस्विर । फोटो स्रोत ।
२०७७ मंसिर ११, ०२:५५ विन्दु चन्द

धनगढी: सुदूरपश्चिममा पनि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ, तर महिला तथा बालिकाविरुद्ध हुने अपराधका घटनामा पटक्कै कमी आउन सकेको छैन। जघन्य अपराधसँगै घरेलु हिंसाका उजुरीका चाङ लागेका छन्। 

अहिले विश्वभर नै महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला प्रश्न उठन सक्छ: नेपाल र अझ सुदूरपश्चिम प्रदेशमा महिलाविरुद्ध हुने हिंसाका घटनाको अवस्था कस्तो छ ? 

सरकारी तथ्याङक केलाउदा सुदूरपश्चिममा महिलाविरुद्ध हुने हिंसाका घटनामा कमी आउन नसकेको पाइएको छ। 

तीन बर्षको अवधिमा यो प्रदेशमा घरेलु हिंसाका मात्रै साढे १५ सय बढी उजुरी दर्ता भएका छन्।

मुद्दाका किसिम

ती मुद्दामा महिलाविरुद्ध हुने यौन अपराध, घरेलु हिंसा, छाउपडी र बाल विवाह रहेका छन्।

तर त्यस्ता घटना नियन्त्रण गर्न सघाउन अहिले १६ दिने अभियानको क्रममा सुदूरपश्चिम प्रदेशभर विभिन्न संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेका छन्। 

हरेक नोभेम्बरको २५ तारिखदेखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्ध १६ दिने अभियान मनाउने गरिन्छ। 

संयुक्त राष्ट संघको सन् १९९९को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपाल र शुदुरपश्चिममा पनि  हरेक वर्ष १६ दिने अभियान गर्ने गरिएको छ । 

बर्षभरि हिंसा विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम गरेपनि हिंसात्मक घटना भने बढी रहेका हुन् । 

कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याको प्रहरी अनुसन्धान अझै जारी छ। त्यस्तै खालका अन्य जघन्य अपराधका खबर रोकिएका छैनन्। 

सुदूरपश्चिममा तीन आर्थिक वर्षको अवधिमा १ हजार ५ सय  ६९ वटा घरेलु हिंसाको निवेदन परेका छन्। 

जसमध्ये १ हजार ३ सय ५८ को मिलापत्र गरिएको छ भने ९९ वटा निवेदन सम्बिन्धत निकायमा पठाइएको छ  । 

यस्तै १३३ मुद्दाको कार्यान्वयन गर्न बाँकी रहेको छ भने २ को मुद्दा दर्ता भएका छन् ।

महिला हिंसा रोक्न विभिन्न संघ संस्थाहरुमा आबद्ध महिलाअधिकारकर्मीहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको भएपनि पनि घरेलु हिंसाका घटनाहरु न्युनीकरण हुनुको झनै बढीरहेको पाइएको छ। 

घटना कम भएपनि सचेतनाका लागि घरेलु हिंसाका उजुरीहरु बढी पर्नेगरेको ओरेक नेपालकि कैलाली जिल्ला संयोजक विनु बोहरा र अन्य अधिकारकर्मीहरुको भनाइ छ।

 तर अधिकारकर्मीहरुले १६ दिने मात्रै नभएर वर्षैभरी घरेलु लगायतका हिंसाको अन्त्य गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको बताएका छन् । 

घरेलु हिंसा कस्ता ? 
घरेलु हिंसाका उजुरी बढीजसो श्रीमान-श्रीमती, सासु-बुहारी, तथा बहुविवाहसँग जोडिएको पाइएको दलित महिलाअधिकार मञ्च नेपालकी अध्यक्ष साबित्रा घिमिरेले दिनेशखबरलाई बताइन् । 

प्रहरीले पनि घरेलु हिंसाका विभिन्न उजुरीहरु आउने गरेको जनाएको छ। 

साथै महिला-महिलाहरुबीच हुने हिंसा, मादक पदार्थ सेवनपछि पुरुषले महिलाविरुद्ध गर्ने हिंसाका घटना नरोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जबराको भनाइ छ।  

महिला हिंसाविरुद्ध सुदूरपश्चिममा अभियान थालिएपनि त्यसको प्रभाव समुदायहरूमा पर्न बाँकी नै छ। उदाहरणका लागि छाउगोठ निर्मूल पार्न समेत सुदूरपश्चिम अझै विफल रहेको पाइएको छ।   
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस