सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका २१ ठाउँबाट फोरजी सेवा बिस्तार गर्ने नेपाल टेलिकमको योजना

२०७७ मंसिर १०, ०२:४५ खबर संवाददाता

प्रताप ओली, बझाङ :  बझाङका २१ ठाउँबाट फोरजी सेवा बिस्तार गर्ने नेपाल टेलिकम योजना रहेको छ।

हाल ८ ठाउँबाट फोरजी सेवा बिस्तार गरिसकेको जनाउने नेपाल टेलिकमले अझैं १३ ठाउँमा सेवा सुरु गर्ने बताएको छ। बझाङमा फोरजी सेवा सूचारु गरेपनि विद्युत अभावको समस्याले इन्टरनेट सेवादेखि फोन सेवा प्रभावित हुनसक्ने देखिएको छ।

 फोरजीले फोन सेवा, टुजी, थ्रीजी सेवा भन्दा दुई गुणा बढी विद्युत खपत गर्ने हुँदा समस्या हुने देखिएको हो। जिल्लाका चैनपुर, देउलेख, दहबगर, देउलीकोट, लेकगाउँ, हेमन्तवाडा, मनाना र माझिगाउँमा फोरजी सेवा सूचारु भइसकेको टेलिकमले जनाएको छ। 

यस्तै कँडेल, मौलाली, रिलु, दौलीचौर, पाराकाट्नेमा १० देखि १५ दिनसम्म फोरजी सेवा सूचारु गर्ने तयारी रहेको नेपाल टेलिकम प्रधान कार्यालय बबरमहलका इञ्जिनियर निर्मल चटौतले बताए।

उनका अनुसार बाँकी रहेका स्युँकोट, बुंगल, छान्ना, भातेखोला, काँडा, तल्कोटका दुई ठाउँमा २ महिना बढी समय लाग्ने देखिएको छ। 

अहिले सबैभन्दा चैनपुर र रिलुमा रहेको टावरमा विद्युत क्षमता छ। यहाँ विद्युत सेवा बन्द भएको वा घाम नलागेको एक हप्तासम्म काम गर्ने क्षमता छ भने अन्य ठाउँमा कम रहेको छ। 

फोरजी सेवासँगै सोलार क्षमता पनि थप्ने तयारी भइरहेको नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाका निर्देशक नमाकर न्यौपानेले बताए। उनका अनुसार यस वर्ष फोरजी सेवा सूचारु भएपनि आउँदो वर्षबाट सबै ठाउँमा विद्युत थपेपछि सेवा गुणस्तरिय हुनेछ।

हाल बझाङमा बैतडीको श्रीभावरबाट सिधै बान्तालेक रुटमा फोरजी सेवा चलिरहेको छ भने श्रीभावर, केदार, बान्तालेक रुटमा टुजी, थ्रीजी र फोन सेवा चलिरहेका छन्। बान्तालेकमा फोरजी सेवाको रिपिटर हुँदा अझैं विद्युत क्षमता थप्नुपर्ने टेलिकमले बताएको छ। 

टेलिकमलाई पर्खिरहेका स्थानीय तह
बझाङका धेरैजसो स्थानीय तहहरुमा इन्टरनेट नहुँदा सदरमुकाममा बसिरहेका छन्। जसले गर्दा स्थानीयले सेवा लिन सदरमुकाममै पुग्नुपर्ने बाध्यता छ। अहिले इन्टरनेट नहुँदा साइपाल, सुर्मा, तल्कोट, मष्टा, केदारस्युँ, थलारा गाउँपालिकाले सदरमुकामबाटै सेवा दिइरहेका छन्। 

इन्टरनेट नहुँदा बजेट तथा योजनाका काम प्रभावित हुने गरेको यी स्थानीय तहहरु बताउँछन्। सिंहदरबार घरघरमा भन्ने नारा इन्टरनेटले पनि प्रभावित बनेको जनप्रतिनिधिको भनाई छ। 

नेपाल टेलिकमले सबै स्थानीय तहमा फोरजी सेवा भरपर्दो रुपमा विस्तार गर्नसके गाउँपालिका कार्यालयबाटै सेवा प्रदान गर्न आफूहरु तयार रहेको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए। उनले भने, ‘चैनपुरमा पनि एडिएसएल इन्टरनेट त्यति गतिलो छैन। हामी मोबाइलमा फोरजी प्याक लिएर हटस्पट अन गरि वाइफाईको रुपमा काम चलाउँदै आएका छौं। गाउँपालिकामा पनि यति भए पुगिहाल्यो।’

उता साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले पनि कहिले गाउँपालिका कहिले चैनपुर गर्दागर्दै आफूहरु थाकेको बताए। सदरमुकामबाट ३ दिन पैदल हिडेर साइपाल गाउँपालिकाको कार्यालय काँडा पुग्नुपर्ने अवस्था छ। उनले भने, ‘हामी त तलमाथि गरिरहन्छौं तर कर्मचारी इन्टरनेट लगायतका सुविधा खोज्छन्। कहिल्यै कार्यालय जान मान्दैनन्।’

विद्युत नहुँदा फोन सेवा नै प्रभावकारी छैन
बझाङमा रहेका २१ वटा नेपाल टेलिकमका टावरमध्ये सदरमुकाम चैनपुर र हेमन्तवाडा चैनपुरमा मात्रै विद्युत सेवा रहेको छ। जिल्ला अन्य १९ वटा टावरमा हाल सोलार प्रविधिले फोन सेवा विस्तार गरिएको छ। 

अग्ला–अग्ला डाँडामा राखिएका टावरहरुमा कहिले घाम नलाग्ने, कहिले सानो अवरोध हुँदा समयमै टेलिकमका कर्मचारी जान नमान्ने गरेका कारण बझाङमा मोबाइल र ल्याण्डलाइन फोन सेवा प्रभावित हुँदै आएको छ। 

त्यस्तै ठाउँ ठाउँमा राखिएका टावरहरु कम ग्राहकलाई मात्रै समेट्ने, निश्चित क्षेत्रमा मात्रै काम गर्ने हुँदा अझैं जिल्लाका सबै गाउँ ठाउँमा फोन सेवा पुगेको देखिदैन। नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरिया निर्देशक नमाकर न्यौपानेका अनुसार बझाङमा फोरजी सेवा विस्तारसँगै सोलार क्षमता थप्ने योजना नेपाल टेलिकम केन्द्रिय कार्यालय बबरमहलको छ।

कमेन्ट लोड गर्नुस