१५ किलोमिटर टाढाबाट पुर्याइयो डडेल्धुराको गणेशपुरमा खानेपानी
धनगढी: डडेल्धुराको गणेशपुरमा गणेशपुर सबसेन्टर खानेपानी योजना सम्पन्न भएको छ। गन्यापधुरा गाउँपालिकाको सदरमुकाम गणेशपुरमा गन्यापतालबाट खानेपानी पुगाइएको हो।
झण्डै ३ सय परिवार रहेको गणेशपुरमा यसअघि खानेपानीको समस्या रहेको थियो। तर १५ किलोमिटर टाढा रहेको मुलबाट खानेपानी पुर्याइएपछि स्थानीय हर्षित भएका छन्।
पहिले दिनको १ घण्टामात्रै खानेपानी उपभोग गरिरहेकोमा अहिले २४सैं घण्टा धारामा पानी आएको स्थानीय दिपेश देउवाले बताए। ‘पहिले चाहिएको बेला खानेपानी पाउन मुस्किल थियो तर अहिले प्रशस्त मात्रामा पानी आउँछ’ उनले भने।
कूल ६० लाखको लागतमा सम्पन्न भएको गणेशपुर सबसेन्टर खानेपानी योजनामा ३३ लाख ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सहयोग गरेको र बाँकी गाउँपालिको लागत रहेको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए।
‘हामीले धेरै टाढा रहेको मुल पत्ता लगाएर खानेपानी सदरमुकाममा पुगाएका हौ’ उनले भने, ‘५३ एमएमको पाइप हालेका छौ, अब यहाँ खानेपानी अभाव रहदैन।’
साथै उनले अब वडा नम्बर ३ गौलीगाउँमा पनि खानेपानी योजना सम्पन्न गरिरहेको बताएका छन। झण्डै ढेड करोडको लागतमा सम्पन्न हुन लागेको योजनामा ३५ लाख पूर्व प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको सांसद विकास कोषबाट प्राप्त भएको अध्यक्ष मल्लले बताए।
‘बाँकी रकम गाउँपालिकाको रहन्छ। यो योजना सम्पन्न भएपछि गाउँपालिकाभर खानेपानीको सबै समस्या समाप्त हुनेछ’ उनले भने ।