डडेल्धुराको भित्रिमधेसमा संगठन विस्तार गर्दै ‘विप्लव’ माओवादी
राम धामी, डडेल्धुरा : शसस्त्र द्वन्द्वका बेला तत्कालिन नेकपा (माओवादी) को आधार इलाका मानिने डडेल्धुराको भित्रिमधेस क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संगठन बिस्तारमा तिब्रता लिएको छ ।
सो पार्टीको सातौं पुर्नगठन दिवसका अवसरमा भित्रिमधेस क्षेत्रको आलिताल गाँउपालिकामा सोमबार कार्यक्रमको सम्पन्न गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले मंगलबारदेखि युवा संगठन नेपालको संगठन बिस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिरहेको जिल्ला सेक्रेटरी टिका राना ‘बिजय’ ले जानकारी दिए ।
‘आलिताल गाँउपालिकामा पार्टीको सातौं पुर्नगठन दिवस सम्पन्न गरेर युवा संगठन नेपालको संगठन बिस्तार तथा सुदृढीकरण अभियान सुचारु गरेका छौ,’ जिल्ला सेक्रेटरी ‘बिजय’ ले टेलिफोन सम्पर्कमा भने, ‘प्रतिबन्धित अवस्था भएपनि उत्साहजनक ढंगबाट पार्टीका गतिविधीहरु सञ्चालन भइरहेका छन् ।’
पार्टीको भातृ संगठन युवा संगठन नेपालको संगठन सुदृढीकरण तथा विस्तारका क्रममा असमाजिक गतिविधी, आर्थिक अनियमितता र राज्यसत्ताको आँडमा भइरहेका अवान्छनीय क्रियाकलापहरुको भण्डाफोर गरिने र गलत कार्यमा संलग्न व्यक्ति, निकाय र संस्थाबिरुद्ध जन कारवाही गरिने ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा संगठन समितिले जनाएको छ ।
राज्यबन्दीहरुको निशर्त रिहाई, पार्टीमाथि लगाईको प्रतिबन्ध फुकुवाका साथै राज्यसत्ताले गरेका गलत कृयाकलापहरुको भण्डाफोरगर्दै क्रान्तीको निरन्तरताका लागि युवा संगठन नेपाल संगठन बिस्तार तथा सुदृढीकरण अभियान थालनी गरिएको विप्लव माओवादी निकट अखिल क्रान्तीकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताए । कोरोना महामारीको विपद्मा परेका आम नागरिकलाई ३ वटै तहका सरकारले उपेक्षा गरेकाले वर्तमान राज्यसत्ताबिरुद्ध जनमत बढ्दै गएको उनले जिकिर गरे ।
‘विप्लव’ समूहले भित्रिमधेसका विभिन्न ग्रामीण क्षेत्रमा युवाहरुलाई संगठित गरिरहेको स्थानीय बताउछन् । कोरोना महामारीका कारण रोजगारी गुमाएर गाँउ फर्केका युवाहरुलाई संगठित बनाउन सो पार्टीले युवा संगठन बिस्तार गरिरहेको हो ।
महामारीका कारण रोजगारी गुमाएर गाँउमा रहेका युवाहरुलाई संगठित गरेर गाँउमा अशान्ती र आतंककारी क्रियाकलाप बढाउन सक्ने भएकाले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका गतिविधीहरु नियन्त्रण गर्न शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।
सरकारले प्रतिबन्धित विप्लव समुहका गतिविधीहरु कडाईका साथ नियन्त्रण गर्न निर्देशन गरे अनुसार भित्रिमधेस क्षेत्रमा प्रमुख सुरक्षा चु्नौतीका रुपमा रहेको सो पार्टीका गतिविधी नियन्त्रण गरिने र त्यस्ता क्रियाकलापमा संलग्न नेता कार्यकर्ताहरुलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।
भित्रिमधेस क्षेत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शसस्त्र द्वन्द्वकालमा जस्तै चन्दा असुली गर्ने, युवाहरुलाई कम्ब्याड डे«समा मार्चपास गराउने र पार्टीको विभिन्न अभियानहरु चलाईरहेको खबर प्राप्त भइरहेकाले भित्रिमधेस क्षेत्रसहित जिल्लाभरिनै सुरक्षा सर्तकता बढाइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।