सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हुलाकी सडक निर्माण ठप्प, अवरोध भारतीय पक्षकै हो ?

२०७७ मंसिर ८, ०३:२५ कमल सावद

धनगढीः राष्ट्रिय गौरवको आयोजना मध्येको एक हुलाकी सडकको कञ्चनपुर खण्डको काम भारतीय पक्षको अवरोधका कारण प्रभावित भएको योजना कार्यालयले जनाएको छ। तर जिल्लाका एक उच्चअधिकारीले भारतीय पक्षको अवरोधले काम नरोकिएको र यथार्थ अर्कै भएको बताएका छन्। 

योजना कार्यालयको भनाइमा भारतीय अवरोधका कारण कञ्चनपुरमा १२ सय मिटर क्षेत्रमा काम प्रभावित भएको हो। हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि सडक निर्माणको काम रोक्न भनेको छ। 

उनले दिनेशखबरसँग भने, ‘१२ सय मिटर क्षेत्रमा सडक निर्माणको काम प्रभावित छ। एक वर्षदेखि काम गर्न पाएका छैनौँ। सीडीओ साहेबले आदेश नदिएसम्म काम नगर्न भन्नु भएको छ । अर्को आदेश भएको छैन।’

कञ्चनपुरकका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने सडक निर्माणको अवरोधको बारेमा आफूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् । 

उनले भने, ‘निर्माणमा अवरोध भएको भनेर म कहाँ कोहि आउनु भएको छैन । मलाई जानकारी छैन । उहाँहरुले बाँकी क्षेत्रमा काम सक्नु भएको हो र? भारतीय पक्षका कारण काममा अवरोध भन्नु।’ प्रजिअ महतोका अनुसार ठेकेदारले काम नगरेको हो र काममा केही अवरोध छैन।

सो विषयमा निर्माण व्यवसायी बाबा हंस सिद्ध शाही जेबीका चक्र शाह सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

बेलौरी नगरपालिका क्षेत्रमा १२  सय मिटर क्षेत्रको सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको हुलाकी सडक योजना कार्यालयको दाबीलाई प्रमुख जिल्ला अधिकारीले अस्वीकार गरेका हुन् । 

स्थानीय प्रशासान र हुलाकी सडक योजना कार्यालयबी समन्वयको अभाव देखिएको छ। स्थानीय प्रशासानले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो सडक कार्यालयको छ । स्थानीय प्रशासनले भने त्यस्तो गुनासो गर्न कार्यालयमा कोही नआएको प्रतिक्रिया दिएको छ । 

समयमा सडक निर्माण पूर्ण नहुने
हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैका अनुसार कञ्चनपुर खण्डमा ६२ किलोमिटर सडक निर्माणका लागि ३ खण्डमा काम हुँदै छ । धनगढीसँग सिमाना जोडिएको पुनर्वास नगरपालिकाको डोके बजारदेखि दैजिसम्म ६२ किलोमिटर सडकको ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

सम्झौताको समय अवधि सकिन लागेका बेला समेत भौतिक प्रगति भने न्यून रहेको हो । 

२०७३ साल फागुनमा सम्झौता भएको पहिलो खण्डमा माघसम्म सडक निर्माणको अवधि पुनः थपिएको छ । अन्य २ खण्डमा भने चैत्रसम्मका लागि समय थप गर्न माग गरिएको छ । तर स्वीकृत भएको छैन । 

सूचना अधिकारी भडैले भने, ‘कोरोना र लकडाउनका कारण तोकिएको समयमा काम पूर्ण नभएको भन्दै पहिलो खण्डको समय थपिएको छ । तर दोस्रो र तेस्रो खण्डको बाँकी छ । उहाँहरुले चैतसम्मका लागि समय माग गर्नु भएको छ । तर थप भएको आएको छैन ।’  

कञ्चनपुरमा अहिलेसम्म अवरोध नरहेको मध्ये १७ किलोमिटर मात्र सडक मात्रै कालोपत्रे भएको छ । 

‘भारतीय पक्षले अवरोध गरेको’भनिएको बाहेकको क्षेत्रमा काम भने जारी रहेको दाबी योजना कार्यालयको छ । 

तर कञ्चनपुर प्रसाशनले भने सडकको काममा निर्माण व्यवसायीको लापरवाही रहेको बताउँदै आएको छ ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस