हिन्दूहरूले पुज्ने गाई माथि सुदूरपश्चिममा मानिस किन यति क्रुर
धनगढीः २०७१ सालको पुष १३ गते कैलालीको पथरैयाको खैरिफाँटामा ७ वटा गाई मरेको अवस्थामा भेटिए।
खैरिफाँटाकै झंकर बोगटीलाई गाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेपनि पछि उनी अदालतको आदेशमा १ लाख धरौटी तिरेर छुटे ।
त्यो घटनामा बोगटीलाई पक्राउ गरी मुद्दा चलाएपनि त्यसपछिका अन्य घटनामा प्रहरी र स्थानीय प्रशासनले छानबिन गर्न समेत चासो नदिएको आरोप लागेको छ ।
‘२०७२ भदौ १३ गते धनगढी उप–महानगरपालिकाको उर्मा र कनरीको बीचमा ५ वटा गाई मरेको अवस्थामा फेला परे,’ धनगढीका गोरक्षक नवराज ओझाले भने। ‘तर प्रहरी प्रशासनले छानबिन समेत गरेन। २०७३ पुष ८ गते गोदावरी नदीको किनारमा २७ वटा गाई मरेको अवस्थामा भेटिए । त्यो घटनामा समेत कुनै छानबिन नै भएन । यसैकारण गौ हत्या गर्ने मनोवृत्ति बढ्यो ।’
यी दुवै घटनाको रहस्य पत्ता लगाउने काम कसैबाट नभएपछि दोषीले उन्मुक्ती पाएको उनको भनाइ छ ।
मानिस किन यति क्रुर?
गत वर्षको चैतमा समेत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा न. १ स्थित देउपाल सामुदायिक वनमा ७ वटा गाईको हत्या गरिएको थियो ।
ग्याबिन तारले पासो लगाएर ती गाईको हत्या गरिएको हो ।
तर उक्त घटनामा संलग्नहरुको खोजी कार्यगरी आवश्यक कारवाही गर्न सम्बद्ध निकायले चासो नदिएपछि रहस्य अझै बाहिर आएको छैन। तर डडेल्धुरा प्रहरी भने उजुरी नआएका कारण मुद्दा चलाउन नसकिएको दाबी गर्दै आएको छ ।
‘कुनै मान्छेले मेरो गाई हो भनेर उजुरी दिएको अवस्था होइन्,’ डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले भने। ‘सरकारवादी मुद्दा भएपनि उजुरी त आउनुपर्यो तब मात्र अनुसन्धान गर्न सकिन्छ।’
गाई हत्याका घटना सार्वजनिक हुँदै गर्दा गोरक्षहरूले भने गौ हत्या बढ्नुमा दोषीले उन्मुक्ति पाउनु र व्यक्तिमा करुणाको भाव हराउनु हो भनी चिन्ता व्यक्त गरेका छन् ।
गोरक्षक रिता अवस्थी भन्छिन्, ‘गाईको हत्या हुनुको प्रमुख कारण राज्यको उदासिनता हो । अपराधीलाई कारवाहीको दायरामा नल्याउँदा नै उनीहरुको मनोबल उच्च हुँदा एकपछि अर्को घटना भइरहेका छन् । यसमा राज्य गम्भीर बन्नुपर्छ ।’
नेपाल प्रहरी के गर्दैछ?
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने गौ हत्या पनि जघन्य अपराध भएकाले गम्भीर रुपमा लिइ नियन्त्रणका लागि कानून मुताविक गर्दै आएको दाबी गरेको छ ।
‘नेपालको कानूनले गौ हत्यालाई जघन्य अपराधकै रुपमा राखेको छ,’ सुदूरपश्चिमका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले भने, ‘संलग्नहरुलाई कारवाहीको दायरामा ल्याएकै अवस्था छ । छाडा पशु चौपायाको राम्रो व्यवस्थापन नहुँदा समस्याका रुपमा देखा परेको छ ।’
कैलाली लगायतका जिल्लामा विगतमा भएका गौ हत्याका घटनाको समेत अनुसन्धान जारी रहेकाले ढिलो भएपनि दोषीलाई कारवाहीको दायरामा ल्याइने दाबी उनी गर्छन् ।
तर प्रहरी प्रशासनमाथि भने उजुरी नपरेको भन्दै गौ हत्याका घटनामा अनुसन्धान नगर्ने गरेको आरोप लाग्दै आएको छ ।
केही दिनअघि मात्र बैतडीमा व्यवस्थापन गर्ने भन्दै लगिएका १४ वटा गाई भीर मुनी मृत भेटिएका थिए ।
ती गाईको हत्या गरेको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको र अर्का एकजनाको खोजी भइरहेको जनाएको छ।
सम्बन्धित समाचार :
बैतडीमा मृत फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ
बैतडीमा गाई मृत भेटिएको घटना रहस्यमय, प्रहरी घटनास्थलतर्फ
गौ हत्या गर्नेलाई के कारवाही हुन्छ ? यस्तो छ कानूनी व्यवस्था