सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मृत फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ

२०७७ मंसिर ५, ०६:१९ खबर संवाददाता

धनगढी: बैतडीमा मृत अवस्थामा फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पुर्चौडी नगरपालिका-५ कुवाकोटका २४ वर्षीय लक्ष्मण पार्की रहेका छन् । 

पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याउन लागेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । 

शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ को सिगास सामुदायिक वन क्षेत्र अन्तरगतको भेरीखोला मुहानमा १४ वटा गाई मृत अवस्थामा भेटिएका थिए

स्थानीयले केही व्यक्तिले ‘गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर ती गाईलाई नियोजित रुपमा भीरबाट खसालेको’ आशंका गरेका थिए । पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले नै टिप्परबाट गाई खोलामा खसालेको उनीहरुको आशंका थियो ।   

पुर्चौडी नगरपालिकाको कुवाकोटका सुरेश पार्की र लक्ष्मण पार्कीले नगरपालिकासँग सम्झौता गरेर ३४ वटा गाई लिएका थिए ।

उनीहरुलाई सो नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिएका थिए ।

कमेन्ट लोड गर्नुस