सुदूर नेपाललाई विश्वसँग जोड्दै

च्याउ खेतीमा युवा पुस्ता : लाखौं आम्दानी, बेरोजगारलाई दिए रोजगारी

२०७७ मंसिर ६, ०५:१८ विन्दु चन्द

धनगढी : मनग्य आम्दानी हुन थालेपछि कैलालीमा च्याउ खेतीतर्फ युवा पुस्ताको आकर्षण बढेको छ ।

कम लगानी, कम समय र थोरै जमिनमा राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीतर्फ युवा पुस्ताको आकर्षण बढेको हो । पछिल्लो समय उच्च शिक्षा हासिल गरेका युवापुस्ताले च्याउ खेतीलाई व्यावसायिक रुपमा अगाडी बढाएका छन् । 

गोदावरी नगरपालिका वडा नम्बर ३ मालाखेती चौकीडाँडाका डिल्लीराज जोशी काठमाडौँमा अध्ययन गर्ने क्रममा च्याउ फार्ममा काम गरेका थिए । स्नातकोत्तरसम्मको अध्ययन गरेका जोशीले काम गर्ने क्रममै सिकेको सीपलाई सदुपयोग गरी व्यवसायमा परिणत गरेका छन् । उनी पछिल्लो ८ वर्षदेखि च्याउ खेती गर्दै आएका हुन् ।

त्रिपुरा मसरुम एग्रो हर्बस फार्म नै सञ्चालन गरेको बताउँदै उनले भने, ‘३ महिना काठमाण्डौँमा मास्टर्स गर्दा खेरी एउटा च्याउ फर्ममा काम गरेर र त्यहाँबाट अनुभव लिए । छोटो समयमै उत्पादन हुने, आम्दानी पनि राम्रो र अरुलाई पनि रोजगारी दिन मिल्ने हुनाले यो पेसामा लागेको हुँ ।’ 

१० हजार रुपैयाँको लगानीबाट च्याउ खेती सुरु गरेका जोशीको निरन्तरको परिश्रम र लगावले एउटा सफल व्यवसायी बन्न सफल भएका छन् । अहिले उनले १४ वटा टनेलमा च्याउ खेती गर्दै आएका छन् ।

अरुलाई रोजगारी
जोशीले च्याउ खेतीलाई व्यावसायिकता दिएर आफू मात्र नभई अन्यलाई समेत रोजगारी दिन सफल भएका छन् । अहिले जोशीको फार्ममा २ जना पूर्ण र १७ जनाले आशिंक रोजगारी पाएका छन् । जोशीले च्याउ खेतीबाट वार्षिक ८ लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएको बताएका छन् ।

जोशी जस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहराका लोकेन्द्र जोशी पनि व्यावसायिक च्याउ खेतीमा जमेका छन् । २०७१ सालमा च्याउ खेती सुरु गरेका उनले अहिले व्यावसायिक रुप दिएका छन् । 

भारतमा सुरक्षा गार्डको रुपमा पनि काम गरिसकेको अनुभव भएका जोशी आफ्नै ठाउँमा केही न केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेतीमा लागेको बताए ।

अहिले २ कठ्ठा जग्गामा च्याउ खेती गरिरहेका जोशीले हिउँदे याममा ३ लाख रुपैयाँसम्मको आम्दानी गर्दै आएका छन् । 

उनले धनगढीको मनेहरा सामुदायिक वनबाट र २ दिन र सेवक नेपालबाट १ हप्ताको तालिमपछि च्याउ खेतीमा कम्मर कसेर लागेका हुुन् ।

२२ हजार रुपैयाँको हाराहारीमा च्याउ खेती सुरुवात गरेका उनले अहिले २ लाख रुपैयाँ लगानी गरेका छन् ।

उनले भने, ‘अब यसै पेसालाई अघि बढाएर च्याउ बन्ने विभिन्न परिकार पाउने रेष्टुरेन्ट खोल्ने योजनामा छु ।’ 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस