सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बाहुली खोला किनारमा अनुमतिबिना क्रसर उद्योग सञ्चालन

२०७७ मंसिर ६, ०१:५९ प्रकाश सिंह

बाजुरा: बाजुराको बढीमालिका नगरपालिका–८ बाहुली खोला किनारमा अनुमतिबिना क्रसर उद्योग सञ्चालनमा ल्याइएको छ ।  क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन गर्नुपर्ने भएपनि कुनै प्रक्रिया पुरा नगरी उद्योग सञ्चालनमा रहेको पाइएको हो । 

मार्तडी–कोल्टी सडक खण्डको ९ किलोमिटर कालोपत्रे जिम्मा पाएको धुलिखेल गाल्भा सेभन सेक्टर जेभिले खोलाको किनारमै क्रसर उद्योग स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।

विगत १ वर्षदेखि सदरमुकाम मार्तडी नजिकै रहेको बाहुली खोलामा क्रसर उद्योग सञ्चालनमा ल्याइएको भएपनि बढीमालिका नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासनले नदेखे जस्तो गरेको स्थानीयको आरोप रहेको छ ।

क्रसर उद्योग सञ्चालनका लागि बढीमालिका नगरपालिका, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रशासन कार्यालयबाट कुनै अनुमति लिइएको छैन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले उक्त क्रसर उद्योगले प्रशासनबाट कुनै अनुमति नलिएको बताएका छन् । ‘हामीबाट अनुमति लिनुपर्ने हो तर क्रसर उद्योगले अनुमति तथा कुनैपनि प्रक्रिया पुगाएको छैन्’ उनले भने ।साथै उनले क्रसर उद्योग नदी र पुलभन्दा कम्तिमा ५ सय मिटर टाढा हुनुपर्ने बताएका छन् ।

यस्तै बढीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले पनि क्रसर उद्योग सञ्चालनका लागि कुनै निवेदन नआएको बताएका छन् । 

उता घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योग सञ्चालनका लागि सुरुमा अध्ययन गरिनुपर्ने भएतापनि बाहुली खोलामा रहेको उद्योगले कुनै अनुमति नलिएको जानकारी दिएको छ  । 

यसरी अवैध रुपमा सञ्चालनमा आएको क्रसरले दैनिक रुपमा ढुङ्गा, गिट्टी र वालुवा निकासी गरिरहदा स्थानीयलाई भुक्षय हुने चिन्ताले पिरोलेको छ । क्रसर उद्योगका कारण बाहुली खोला नजिक रहेको बस्ती र जमिन समेत बाढीको जोखिममा रहेको स्थानीयले बताएका छन् ।

धुलिखेल गाल्भा सेभन सेक्टर जेभि कम्पनीका प्रतिनिधि दिप्रेन्द्र शाहिले क्रसर उद्योगका लागि अनुमति लिन बाँकी रहेको बताएका छन् । ‘नगरपालिकामा निवेदन दिइएको छ, चाडै प्रक्रियामा जानेछौ’ उनले भने ।


 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस