सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना अस्पतालका लागि बझाङका स्थानीय तहले पाएनन् एमबिबिएस डाक्टर

थलारा गाउँपालिकाले-४ को पाराकाट्नेमा बनाउँदै गरेको ५ सैयाको कोभिड अस्पताल
थलारा गाउँपालिकाले-४ को पाराकाट्नेमा बनाउँदै गरेको ५ सैयाको कोभिड अस्पताल
२०७७ मंसिर ३, ०६:२६ खबर संवाददाता

प्रताप ओली, बझाङ: बझाङका स्थानीय तहलाई एमबीबीएस डाक्टर पाउन कठिन भएको छ । बझाङका तीन चार स्थानीय तहमा बाहेक धेरैजसोमा कोरोना अस्पतालमा आवश्यक एमबिबिएस डाक्टर पाउन असहज देखिएको हो ।

दुर्गम र करार अवधि हुने हुँदा एमबिबिसएस डाक्टर यहाँका स्थानीय तहमा आउन नमानेको जनप्रतिनिधिहरुले बताएका छन् । अहिलेसम्म वित्थडचिर, केदारस्युँ र बुंगल नगरपालिकमा प्राथमिक स्वास्थ्य केन्द्र भएकाले त्यहाँ एमबिबिएस डाक्टरहरु नियक्त भएका छन् भने छबिसपाथिभेरा गाउँपालिकाले एक जना एमबिबिएस डाक्टरलाई सम्पर्कमा ल्याएको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले बझाङका बुंगल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीलाई १५ शैया, वित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैया, साइपाल गाउँपालिकाको काँडा स्वास्थ्य चौकी, खप्तडछान्ना गाउँपालिकाको काँडा स्वास्थ्य चौकी र छबिसपाथिभेरा गाउँपालिकाको कोटचौघाटनपाटा स्वास्थ्य चौकीलाई १० शैयामा अन्य स्थानीय तहलाई ५–५ सैयामा स्तरोन्नती गर्न परिपत्र गरेको छ ।

मंसिर १५ गते देशैभरका अस्पतालाई एकैसाथ उद्घाटन गर्ने लक्ष्य संघीय सरकारको छ । अस्पताल स्तरोन्ती र निर्माणका लागि भन्दै सरकारले साढे ८ लाखदेखि १० लाखसम्म बजेट पठाइसकेको छ । तर मष्टा, थलारा, साइपाल, खप्तडछान्ना, दुर्गाथली, सुर्मा गाउँपालिकाले डाक्टर पाउन असहज भएको बताएका छन् । स्टाफ नर्सहरु घर घरमा भेटिन थालेको तर एमबिबिएस डाक्टर भने भर्ना आह्वान गरेको करिब एक महिना वित्नै लाग्दासमेत नभेटाएको खप्तडछान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले बताए । यता साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीका अनुसार स्टाफ नर्स नै जान नमान्ने साइपालमा एमबिबिएस डाक्टर पाउन झन् असहज भएको छ । 

स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्न परिपत्र गरेको थियो । अस्पताल नभएका ६ सय ४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै सुरु गर्न भनिएको थियो । सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि ६४ करोड निकासा भएको थियो । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुने सरकारले जनाएको थियो ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि संघीय सरकारको यो पहिलो निर्णय हो ।

तर बझाङका प्रायः जसो स्थानीय तहले भने स्टाफ नर्स पाएपनि एमबिबिएस डाक्टर पाएका छैनन् । एमबिबिएस डाक्टर र नर्स भर्नाका लागि विज्ञापन जारी भएको लगभग एक महिना पुग्न थालिसकेको छ ।  डाक्टर नपाएका पालिकामा अहिले स्टाफ नर्सले काम चलाउन सरकारले भनेको छ ।

कमेन्ट लोड गर्नुस