डडेल्धुराका युवाले सुुरु गरे क्रंक्रिट उद्योग
टेकराज अवस्थी, डडेल्धुरा: सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पहिलो पटक क्रंक्रिट उद्योग खुलेको छ । अजयमेरु गाउँपालिकाका टेकबहादुर बिष्टले आफ्नै लगानीमा अमरगढी नगरपालिका–८ स्थित किर्तिपुर बजारमा उत्पादन सुुरु गरेका हुन ।
इन्जिनियरिङ विद्यार्थी समेत रहेका उनले जग्गा भाडामा लिएर ईटा, फेबरबल्क र सिएसईबी क्रंक्रिट उत्पादन सुरु गरेका छन् । बेताल क्रंक्रिट उद्योग नाम दिई करिब दुई महिना अघिदेखि बालुवा गिट्टि, चालेको माटो मिश्रण गरी कम्प्रेसिभ स्टेबिलाईज अर्थ ब्रिकको रुपमा उत्पादन सुुरु गरिएको उक्त उद्योगमा १० जना स्थानीयले रोजगार पाएका छन् ।
नयाँ प्रविधिको नर्मल तथा ईन्टरलक सिमेन्टेड जोडाई रहेको बेताल क्रंक्रिट आफ्नो घर छेउमै सस्तो मुल्यमा पाउन थालेपछि स्थानीयले ईंटाको सट्टा बेताल क्रंक्रिट प्रयोग गरेर घर निर्माण गर्न थालेका छन् ।
रातो ईंटाको घर निर्माण खर्च भन्दा मितव्ययी र छिटो चिनाई तथा कम मसाला लाग्ने भएकाले स्थानीय बेताल क्रंक्रिटतिर आकर्षित भएको उद्यमी बिष्टले बताए । करिब ३० प्रतिशत सस्तो मूल्यमा घर संरचना निर्माण हुने देखिएको स्थानीयको माग बढेको उनले बताए ।
साधारण ईंटा प्रति गोटा १७, जोडाई ईंटा (सिएसईबी) प्रति गोटा ४५ र भुँई ब्लक (फेबर) प्रति गोटा ४० को मूल्यमा धमाधम बिक्रि भईरहेको र माग बढिरहेको उद्योग संचालकको भनाई छ ।
‘अब यस उत्पादनलाई बेरोजगार युवाहरुको श्रमशक्तिसँग जोडनुपर्छ । यी उत्पादनको प्रयोग गरेर घर निर्माण गर्ने डकर्मी तालिम दिएर आत्मनिर्भर बनाउनतर्फ स्थानीय तह जिम्मेवार बन्नुपर्छ’ उनले भने ।