सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना ग्राफ : संक्रमण निरन्तर उक्लियो, सरकार सुस्तायो

२०७७ कार्तिक २८, ०२:०१ नारायण अवस्थी

धनगढी : संघीय सरकारले परीक्षण र उपचारको शुल्क लिने निर्णयपछि सुस्ताएको कोरोनाको परीक्षण अझै बढ्न सकेको छैन ।

सुदूरपश्चिममा हाल ६ वटा प्रयोगशालामार्फत परीक्षण हुँदै आएको छ । धनगढी, बैतडी, डोटी, डडेल्धुरा, बझाङ र अछामको कमलबजारमा रहेको प्रयोगशाला गरी ६ वटै प्रयोगशालाको परीक्षण क्षमता दैनिक ४ हजार ८ सय भएपनि नमूना संकलन नहँुदा पछिल्लो १० दिनको अवधीमा दैनिक ५ सयभन्दा कम संख्यामा परीक्षण भएको पाइएको छ ।

अहिले परीक्षण र उपचार निःशुल्क हुने भएपनि स्वाब संकलन कम र कन्ट्याक्ट टे«सिङ हुनै छोडेको छ । परीक्षणको दायरा नबढ्नुको कारण सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेकोे प्रतिपक्षी दलको आरोप छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले भने, ‘सरकारले कोरोना परीक्षणमा सुरुदेखि नै लापरवाही गरिरहेको छ । जसको कारण कोरोना तीब्र फैलिइरहेको छ । कोरोनाको संख्या कम देखाउन सरकार परीक्षण गर्न चाहेको छैन ।’
सरकारले स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङ गर्न उदासिन हुँदा न्यून संख्यामा नमूना संकलन हुँदा प्रयोगशालामा नमूनाको अभावमा परीक्षण कम र सुस्त भइरहेको न.जनगुनासो बढेको छ । 

तर सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘सरकारले कसैको पनि कोरोना परीक्षण जवरजस्ती गर्न सक्दैन । स्वइच्छाले परीक्षण गर्न आउनेलाई परीक्षण नगरी घर फर्काएको छ भने भन्नुस्, कारवाही हुन्छ । सरकारले मापदण्ड अनुसार सबैको परीक्षण गर्छ ।’  तर कोरोना परीक्षणको पछिल्लो १० दिनको तथ्यांक केलाउँदा परीक्षण घटेतापनि संक्रमणको दरमा भने डर लाग्दो रुपमा बढेको छ । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालको पछिल्लो १२ दिन कार्तिक (१७–२७) को तथ्यांक अनुसार कुल नमूनाको सबैभन्दा कम १२ प्रतिशत र अधिकतम ३१ प्रतिशतमा कोरोना संक्रमण बढेको छ ।

तथ्यांक अनुसार सुदूरपश्चिममा कार्तिक १७ गते २९२ नमूना परीक्षण गर्दा ९० जनामा कोरोना देखिएको छ । १९ गते ४३५ नमूना परीक्षण गर्दा ६४ जना, २१ गते ४८२ मा १०७ जनामा कोरोना पुष्टि भएको छ ।

कार्तिक २२ गते ३९३ नमूनामा ४७ पोजिटिभ, २३ गते ४५३ मा १०२ जनामा कोरोना देखिएको छ भने गत २४ गते ९२० नमूना परीक्षण गर्दा १२९ जनामा कोरोना देखिएको छ । 

कार्तिक २५ गते ३७७ नमूना परीक्षणमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक २६ गते २९७ नमूनामा ५९ जनामा कोरोना देखिएको छ । कार्तिक २७ गते ६६९ नमूनामा ६७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

देखिएको छ । संक्रमण ५ प्रतिशतभन्दा माथि देखिनु महामारी रोगमा निकै गम्भीर अवस्था हुने हुँदा परीक्षणको दायरा बढाउनु पर्नेमा जोड जनस्वास्थ्यविदहरुको छ ।

जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीले भने, ‘कोरोना परीक्षण गर्न सरकार सुस्ताए झै देखिन्छ । महामारी नियन्त्रण गर्न संक्रमणको जोखिममा रहेका हरेक व्यक्तिको कोरोना परीक्षण गर्ने र संक्रमितलाई आइसोलेट गर्ने कार्यमा तदारुकता हुनुपर्ने अनिवार्य सर्त हुन्छ । संक्रमण रोक्न कुनै पनि वाहनामा परीक्षण रोक्नु भनेको खतरा निम्त्याउनु हो ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस