सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैनिक उपभोग्य वस्तुको मूल्य अकाशियो, महंगी नियन्त्रणमा वेवास्ता

२०७७ कार्तिक २७, १२:०० नारायण अवस्थी

धनगढी : चाडपर्वकै बेला सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएको छ ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि भएपछि आमउपभोक्ता मारमा परेका छन् । तर सरोकारवाला निकाय भने महंगी नियन्त्रणमा बेखबर बनेका हुन् ।

धनगढीका स्थानीय बिनोद जोशीले भने ‘लकडाउन खुलेपछि बजार मूल्य घट्नु पर्ने हो तर हरेक दिन सामान किन्न जाँदा उपभोग्य वस्तुको मूल्य बढेको हुन्छ । बजार अनुगमन नहुँदा व्यापारीको मनपरी भयो ।’

बजारमा अहिले मोटा चामल प्रति किलो ५० रुपैयाँ, जिरा मसिनो ७० रुपैयाँमा बिक्री भइरहेको छ । गत असोजको तुलनामा सबै किसिमका दाल, खाने तेल, चिनीको मूल्यमा मूल्य बृद्धि भएको छ । 

कार्तिक महिनामा असोजको तुलनामा तोरीको तेल र सनफ्लावरको तेलमा प्रति लिटर १०÷१० रुपैँयाँको दरले बढेर प्रति लिटर क्रमशः १९० र १ सय रुपैयाँ भएको छ । 

असोजको तुलनामा कार्तिक महिनामा मासको दालमा सबैभन्दा बढी २५ रुपैयाँ, अरहरको दालमा २० रुपैयाँ, मटर र चनाको प्रति किलोग्राम १५ रुपैयाँ, मसुरोमा १० रुपैयाँ र चिनीमा ७ रुपैया बृद्धि भएको छ ।

तर व्यापारीहरुले भने मूल्य बृद्धि नभएको जिकिर गर्दै आएका छन् । किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तले भने, ‘कुनै पनि वस्तुको मूल्य बृद्धिमा पसल सञ्चालकको हात छैन । कम्पनी र होलसेलरबाट नै मूल्य बढेर आउने गरेको कारण आफूहरुले उपभोक्ताको गुनासो सुन्नु परेको छ ।’

चाडपर्वकै बीचमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बद्धि हुँदा आमउपभोक्ता मारमा परेका छन् । सरोकारवाला निकाय भने महंगी नियन्त्रणमा मौन बसेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनले भने, ‘बजार अनुगमन गर्ने क्रममा मूल्य बढेको र कारण बुझ्न उद्योगहरुको अनुगमन गर्ने तयारीमा छौ । तथापी बजार अनुगमन जारी राखेका छौ ।’

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस