कारागारको पुस्तकालयका लागि प्रेस युनियन डडेल्धुराले दियो पुस्तक
डडेल्धुरा: जिल्ला कारागार डडेल्धुरा भित्रको पुस्तकालयका लागि नेपाल प्रेस युनिययन डडेल्धुराले पुस्तक उपलब्ध गराएको छ । कैद भुक्तान गरिरहेकाहरुलाई अध्ययनका लागि किताब उपलब्ध गराइएका हुन ।
बुधबार कारागारमै पुगी प्रेस युनियनका पदाधिकारीहरुले किताब उपलब्ध गराएका छन् । कानुन सम्बन्धीका पुस्तकसँगै प्रेरणादायक, जीवनउपयोगी पुस्तक र भलिबल तथा नेट उपलब्ध गराइएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा अध्यक्ष धनबहादुर भण्डारीले बताए ।
कानुन सम्बन्धी जानकारी र कैद भुक्तान गरिसकेपछि सामान्य जीवनमा उपयोगी हुने किताबहरु कारागारलाई उपलब्ध गराइएको उनले बताए । ‘किताबले ज्ञान आर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दीहरुलनई सहज हुने छ’ उनले भने, ‘कैदीहरु कानुन सम्बन्धी जानकारी पनि हुने छन् । यसले समाजप्रतिको दायित्व पनि बोध गराउने छ । यो सुुरुवात हो । अझै सहयोग गर्नेछाैं।’
बजेट अभावका कारण भौतिक पूर्वाधार लगायत कानुनप्रदत्त विषयवस्तुहरुको पुर्ती नभएको अवस्थामा किताब र खेल सामाग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बावुराम आचार्यले बताए । साथै उनले निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।
जिल्ला कारागार डडेल्धुरामा अहिले १ सय ८ जना कैदीबन्दी छन् । तीमध्ये महिलाको संख्या १७ रहेको छ । विभिन्न ३२ प्रकारका मुद्दामा उनीहरु कैद भुक्तान गरिरहेको जेलर कमलापति भट्टले बताए । नेपाल सरकारको ऐन नियमावली अनुसार सेवा सुविधाहरु पाइरहेको जनाउदै उनले कैदीबन्दीहरुले मुडा बनाउने काम गरिरहेको बताए । यद्दपी कोरोना संक्रमणका कारण अन्य गतिविधीहरु भने हुन नसकेको उनले बताए ।
कैद भुक्तान गरिरहेकाहरुलाई खाना पकाउने भान्साको समस्या रहेको चौकीदार उत्तम रानाले बताए । चिसो समयको शुरुवात भएकाले खाने पकाउने भान्सा व्यवस्थित गरिनुपर्ने उनको माग थियो ।