सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीबीसीका पूर्व पत्रकार सुरेन्द्र फुयाल अब दिनेशखबरको अतिथि सम्पादक

२०७७ कार्तिक २४, ०२:३५ खबर संवाददाता

धनगढी : गत २२ वर्षदेखि  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा  सक्रिय रहेका पत्रकार सुरेन्द्र फुयाल दिनेशखबर डट कम तथा रेडियोमा अतिथि सम्पादकको रूपमा काम गर्न आगामी मंसिरदेखि केही महिनाको लागि सुदूरपश्चिम आउने भएका छन्।

आफ्नो दुई दशकभन्दा लामो पत्रकारिता यात्रामा सुरेन्द्र फुयालले बीबीसी, द काठमान्डू पोस्ट, पिट्सबर्ग पोस्ट-गजेट (अमेरिका) र आईपीएस समाचार एजेन्सीमा सक्रिय पत्रकारिताको अनुभव बटुलिसकेका छन्। उनी २०६३ सालदेखि २०७६ चैत मसान्तसम्म झन्डै १४ वर्ष बीबीसी नेपाली सेवाको रेडियो, अनलाइन तथा डिजिटल प्लाटफर्ममा मल्टिमिडिया पत्रकार तथा प्रस्तोताको रूपमा  सक्रिय थिए। अङ्ग्रेजी तथा हिन्दी भाषामा समेत राम्रो दक्खल राख्ने फुयाल बीबीसी वर्ल्ड टीभी तथा रेडियोका साथै बीबीसी हिन्दी रेडियो, अनलाइन तथा टीभीमा पनि सक्रिय थिए।

गत वैशाखयता उनी बीबीसी हिन्दी, नेपाली टाइम्स् तथा सेतोपाटी डट कममा स्वतन्त्र पत्रकारका रूपमा सक्रिय छन्। 

२०६१ सालमा फुयालले भारतको राजधानी दिल्लीमा कान्तिपुर मिडिया ग्रुपको पहिलो विदेशी ब्यूरो स्थापनाको अगुवाइ गरेका थिए, जुन विदेशमा निरन्तर सञ्चालनमा रहेको नेपालकै पहिलो त्यस्तो समाचार ब्यूरो हो। 

"काठमाण्डू बाहिर पनि नेपाल छ र म सुदूरपश्चिमलाई आफ्नो कार्यथलो बनाइ दूरदराजका युवा पत्रकारहरूसँग आफ्नो ज्ञान र सीप बाँड्ने अवसर पाउँदा निकै उत्साहित भएको छु,"  पत्रकार फुयालले भने -"सदूरपश्चिम आउन पाउँदा म अमेरिका वा भारत जान पाउँदाभन्दा बढी खुसी छु।"

प्रकृति, वातावरण, कला, साहित्य तथा विविध संस्कृतिको अध्ययनमा रमाउने फुयाल नेपाल तथा एशियाको भूराजनीतिमा पनि गहिरो चासो राख्छन् र उनले ती विषयमा पनि कलम चलाउँदै आएका छन्। सुदूरपश्चिममा उनले युवा पुस्तालाई रेडियो, टीभी, डिजिटल, सोसल र अनलाइन मिडियामा भइरहेका नयाँ प्रयोगबारे आफ्नो अनुभव साट्ने योजना बनाएका छन्।

कमेन्ट लोड गर्नुस