निर्माणको ५ दिनमै धनगढीमा उप्कियो कालोपत्रे
धनगढी : धनगढी उप–महानगरपालिकाको बजेटमा निर्माण गरिएको कालोपत्रे सडक ७ दिन नबित्दै उप्किएको छ ।
उप–महानगरपालिकाको वडा नम्बर १ को चौधरी बुक डिपो क्षेत्रमा उप–महानगरपालिकाले निर्माण गरेको सडक निर्माण भएको ५ दिनमै भत्किएको स्थानीयले बताएका छन् । स्थानीय एंव कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम विष्टले उप–महानगरपालिकाको बजेटमा निर्माण ब्यवसायीले बनाएको सडक १ हप्तामा नै उप्किएको बताए ।
उनले भने, ‘धनगढी उप–महानगरपालिकामार्फत ठेक्दारलाई दिइएको हो । ६ महिनादेखि धुलाम्य थियो । सायद ५ दिन भयो, सडक कालोपत्रे गरिएको । तर सडक उप्किएको छ । पहिलेको कालोपत्रे ३० वर्ष चलेको हो । तर अहिलेको सडक ५ दिनमा नै उप्किएको छ ।’
खाली ट्रक गुडे पनि सडक उम्किएको स्थानीयको गुनासो छ । सडकको गुणस्तर कमजोर भएको स्थानीयको दाबी छ । उनीहरुले पैदल हिड्दा समेत गरिएको कालोपत्रे उप्किने गरेको बताइएको छ । उप–महानगरपालिकाले सडकको गुणस्तरमा ध्यान नदिएपछि न्यून गुणस्तरको सडक निर्माण भएको उनीहरुले बताएका छन् ।
तर धनगढी उप–महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले निर्माण कम्पनीले उप्किएको सडक पुनःमर्मत गर्नुपर्ने बताएका छन् । ठेक्का सम्झौको रकम र समयको बारेमा फाइल हेर्नुपर्ने बताउँदै उनले निर्माण ब्यवसायीको धारौटी हुने भन्दै भत्किएको सडक पुनःमर्मत हुने उल्लेख गरे ।