सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना विरुद्धकाे लडाइ : धनगढीका ३ होटल

साथी होटल, शुभम गेष्ट हाउस र आस्था होटल
साथी होटल, शुभम गेष्ट हाउस र आस्था होटल
२०७७ कार्तिक २२, १२:५० कमल सावद

धनगढी :कोरोना महामारीले विश्व नै आक्रान्त भयो । अर्थतन्त्र नै धर्मारायो । समुदाय स्तरमै कोरोना संक्रमण ह्वात्तै बढ्यो । समाजमा हेर्ने दृष्टिकोणले संक्रमितलाई झन पीडा थपेको छ । तर धनगढी ३ निजी होटल अहिले पीडितको पीडामा मलहम लगाउने कार्यमा अग्रसर भएका छन् ।

होटल, नाफामूलक व्यवसाय भएपनि ती होटलहरुले कोरोना लडाइको फ्रन्ट लाइनका स्वास्थ्यकर्मीदेखि कोरोना संक्रमण मुक्त भएर अनिवार्य १ हप्ता आइसोलेसनमा बस्नुपर्नेहरुलाई आश्रय दिदै आएका छन् ।

धनगढीस्थित साथी होटल, शुभम गेष्ट हाउस र आस्था होटलले गत चैत्र महिनादेखि नै आश्रय दिदै आएका हुन् ।

होटल साथी प्रालिका सञ्चालक दिनेशराज भण्डारी भन्छन्, ‘हामीले कोरोना संक्रमितलाई त राखेनौ तर संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीहरुलाई सेवा दिएका छौ । उहाँहरु होटलमा बस्ने भएकाले कोरोना संक्रमणको त्रासले केही कर्मचारीले काम पनि छोड्नु भयो । तर हामीले उहाँहरुलाई चैतदेखि नै सेवा दिएका हौ । होटलका कर्मचारीहरु डराउन थाले पनि म आफै पनि होटलमा नै खाना खान थाले । म पनि उहाँहरुसगै होटलमा आए । तर अहिलेसम्म सक्रमणबाट जोगिएका छौ ।’ तर अहिले चाँही होटलमा स्वास्थ्यकर्मी नभएको उनको भनाइ छ ।

सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट देशव्यापी लकडाउन गर्यो । लकडाउनका बेला धनगढीसहित सुदूरपश्चिमका अन्य शहरमा रहेका होटलसमेत बन्द रहेका थिए । त्रासले होटल सञ्चालकहरु कर्मचारीलाई बेतलबी बिदा दिए । 

तर धनगढीका ती ३ हाउसले भने कोरोना महामारी चलेदेखि नै फ्रन्ट लाइनमा रहने स्वास्थ्यकर्मी र कोरोना रिर्पोट नेगेटिभ आएकाहरुका लागि खुल्ला नै रहे । 

धनगढीको शुभम गेष्ट हाउसका सञ्चालक भीम शाहीले चैत महिनादेखि नै स्वास्थ्यकर्मीलाई सेवा दिएको बताउँछन् । 
‘सेती अस्पतालबाट धेरै आग्रह गरियो । लकडाउनको समयमा समेत सेवा दिन साह्रै चुनौती थियो । लकडाउनको बेला सामान पनि पाएनौ । स्थानीय प्रशासनको समन्वयमा सामानको जोहो भयो । हामीले अहिले पनि सेवा दिएका छौ’ उनले भने । त्यस्तै आस्था होटलले पनि चैतदेखि स्वास्थ्यकर्मीहरुलाई आश्रय दिदै आएको जनाएका छ ।

चैतको महिनाबाट सेवा दिएका सञ्चालकहरुलाई होटल चलाउन सहज भने थिएन् । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरु, नर्स तथा सफाइ कर्मचारीलाई होटलमा राखिएको भन्दै होटलका कर्मचारीले काम छोडेका थिए । कोरोनाको संक्रमण हुने भन्दै होटलका कर्मचारीहरु स्वास्थ्यकर्मीको नजिक समेत गएनन् । सञ्चालनमा चुनौती भए पनि कोरोना बिरुद्धको लडाइमा रहेका स्वास्थ्यकर्मीलाई सेवा दिएको होटलहरुले बताएका छन् । 

कोरोना विरुद्धको लडाइमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आश्रय दिएका होटलहरुले आम्दानी मात्र गरेनन् कि सामाजिक उत्तरदायित्व समेत पूरा गरेको दाबी गरेका छन् । 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस