सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका पत्रकार बोहरालाई ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी, कारवाहीको माग

२०७७ कार्तिक २१, ०२:०९ खबर संवाददाता

धनगढी : डडेल्धुराका क्रियाशिल पत्रकार ललित बोहरालाई ज्यान मार्ने धम्की दिने विरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकार बोहरालाई ज्यान मार्ने धम्की दिने नेपाल रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंकका इन्चार्ज गणेश ऐरविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी परेको हो ।

प्रहरी कार्यालयमा उजुरी परेको उल्लेख गर्दै डडेल्धुरा प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले घटनावारे अनुसन्धान बढाइने बताए । ज्यान मार्ने धम्की दिने ऐरलाई कार्यालयमा बोलाइने पनि प्रहरी नायव उपरीक्षक नेपालको भनाइ छ ।

यसैबीच पत्रकार संग सम्बन्धित संघ संगठनले घटनाको विरोध गर्दै धम्की दिनेलाई कडा कारवाहीको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलद्वारा शुक्रबार प्रेषित प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘आम नागरिकलाई सूसुचित गराउने कार्यमा संलग्न पत्रकारलाई समाचार लेखेकै  कारण यस्तो धम्की दिने व्यक्तिलाई कानूनी कारवाहीको माग गर्दै स्वतन्त्र पत्रकारिताको ग्यारेन्टीका लागि सरोकारवाला पक्षलाई अनुरोध छ ।’

त्यस्तै, नेपाल पत्रकार महासंघ डडेल्धुराले पनि घटनाको विरोध गर्दै धम्की दिनेलाई कारवाहीको माग गरेको छ । 
 

कमेन्ट लोड गर्नुस