यातायात कार्यालय धनगढी : ५ सय दिनुस्, सबै काम बसी–बसी, (बार्गेनिङ गरेको भिडियोसहित)
धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटका डबल बोहरा मोटरसाइलको नामसारी गर्न बुधबार यातायात कार्यालय धनगढी पुगे ।
यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको लामो लाइन थियो । तर मोटरसाइकल शो रुमका कर्मचारीले बोहरालाई कार्यालयका एक कर्मचारीको नम्बर उपलब्ध गराए । ती कर्मचारीलाई फोन गरेपछि बोहराले लाइनमा बस्नु त परेन् । तर कर २ सय तिर्नुपर्ने ठाउँमा बोहराको ७ सय रुपैँया खर्च भयो । कारण थियो, यातायात कार्यालयको ठेलमठेल लाइन् ।
उनले दिनेश खबरसंग भने, ‘मेरो नयाँ मोटरसाइकलको नाम सारी गर्नु थियो । शो रुमका कर्मचारीले नम्बर दिनु भएको थियो । यातायातमा आएपछि उहाँलाई फोन गरे । सुरुमा २ सय माग्नु भयो । काम भएपछि पुनः ५ सय दिनु भन्नु भएको थियो । म लाइनमा बसेन् । काम भयो मैले उहाँलाई ५ सय थप दिए । मेरो ७ सय खर्च भयो । काम पनि भयो ।’
विगतमा पनि बिचोलियाको चंगुलमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहको परिपाटी सुधार नहुँदा सेवाग्राहीले सधै सास्ती खेप्नुपर्ने बाध्यता छ । यातायात कार्यालयकै संरक्षणमा रहेका बिचौलियाले रकम उठाउने र बाँडफाँड गर्ने गरेको खुलेको छ ।
यसैबीच बुधबार दिउँसो कार्यालयमा घुस लेनदेनको विषयमै बार्गेनिङ चलिरहेको भिडियो दिनेश खबरलाई प्राप्त भएको छ । भिडियोमा सेवाग्राही र बिचोलियाबीच लेनदेनको कुरा हुँदै छ ।
भिडियोमा सुनिन्छ :
बिचोलिया : कि लाइनमा बस्ने भए लाइनमा बस्नुस्, नभए इक्ट्रा लाग्छ ।
सेवाग्राही : कति लाग्छ ?
बिचोलिया :२ सय कर र ३ सय इक्ट्रा ।
सेवाग्राही : जम्मा कति लाग्छ ?
बिचोलिया : ५ लाग्छ । त्यसपछि रसिद आउँछ, अरु काम गर्र्दै गर्नु ।
सेवाग्राही संग बिचोलियाहरु कार्यालय परिसरमै खुल्म्खुल्ला बाग्रेनिङ गर्दै आएका छन् । कार्यालयका फाइलहरु समेत उनीहरुकै कब्जामा हुने गरेको आरोप सेवाग्राहीको छ । कार्यालय परिसरमै फाइल बोकेर उनीहरु निर्बाध रुपमा घुमिरहेका हुन्छन् । कर्मचारीले हस्ताक्षर गरेबाफत बिचोलियाले संकलन गरेको रकमको केही हिस्सा लिने गरेको आरोप सेवाग्राहीको छ ।
तर यातायात व्यवस्था कार्यालयका प्रमुख लक्ष्मण शाहले यातायातका कर्मचारी र सेवाग्राहीबीच लेनदेखन नभएको दाबी गरे ।
उनले भने, ‘मोटरसाइकलको नामासारीका लागि २ सय कर हो । ढिलो भएमा अतिरिक्त शुल्क लाग्छ । तर कर्मचारीले बढी पैसा माग्दैनन् । सबैलाई लाइनमा राखेर सेवा दिने हो ।’