सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पूर्व–पश्चिम राजमार्ग मर्मतको काम सुचारु, २० किलोमिटर कालोपत्रे

२०७७ कार्तिक १८, ०५:१९ कमल सावद

धनगढी -कैलालीमा रोकिएको पूर्व–पश्चिम राजमार्गको मर्मत सम्भारको काम सुचारु गरिएको छ ।

कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञापछि रोकिएको पूर्व–पश्चिम राजमार्ग मर्मतको काम पुनः सुचारु गरिएको हो ।

३ वर्षभित्र ७९ किलोमिटर सडक मर्मत सक्ने गरी सम्झौता भएकोमा २० किलोमिटर क्षेत्रको काम सकिएको जनाइएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार सडकको अत्तरियादेखि २० किलोमिटर पूर्वसम्म मर्मतको काम सकिएको छ ।

उनले भने, ‘सडक मर्मतको लागि ठेक्का पाएको निर्माण कम्पनीले अहिले काम सुरु गरेको छ । ३ वर्षभित्रै निर्माण कम्पनीले मर्मतको काम गर्ने हो । ३ खण्डमा काम भैरहेको छ ।’

कैलालीको अत्तरियादेखि चिसापानीसम्मको ७९ किलोमिटर सडक मर्मतका लागि कालिका–जोशी जेभी र सडक डिभिजन कार्यालय महेन्द्रनगरबीच १५ करोड ९० लाख ९१ हजारमा ठेक्का सम्झौता भएको छ ।

निर्माण व्यवसायी गणेश जोशीले सम्झौता अनुसार काम थालेको बताए । अहिले चौमाला क्षेत्रमा मर्मत काम जारी रहेको उनको भनाइ छ ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस