कैलालीमा धान खरिद सुरु, प्रति क्वीन्टल २७३५ रुपैयाँ
धनगढी: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीमा धान खरिद सुरु गरेको छ ।
जिल्लाको टीकापुर र मोहनपुर धनगढीबाट धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल श्रेष्ठका अनुसार प्रति क्वीन्टल २ हजार ७३५ रुपैयाँमा धान खरिद सुरु गरिएको छ ।
केही दिनभित्रै जिल्लाको भजनी र जोशीपुरबाट पनि खरिद कार्य थाल्ने बताउँदै प्रमुख श्रेष्ठले चालु वर्ष ६ हजार ५ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए ।
नेपाल सरकारले तोकेको न्युनतम् समर्थन मूल्य प्रति क्वीटल मोटा धान २ हजार ७३५ रुपैया धान खरिद सुरु गरिएको हो । तर मसिनो धानको भने खरिद मूल्य खुलाइएको छैन ।
यद्यपी मध्यम धान २ हजार ८८५ तथा मकवानपुर धान २ हजार ८२० मा खरिद गर्ने जनाइएको छ । कम्पनीले बर्दियाको राजापुरबाट पनि खरिद गर्न थालेको हो ।
कम्पनीले ढिलो गरी सीमित स्थानबाट मात्रै धान खरिद थालेपछि ग्रामीण भेगका किसानले सस्तो मूल्यमा उत्पादित धान गल्ला व्यापारीलाई बिक्री गर्न बाध्य भएका छन् । ग्रामीण भेगमा प्रति क्वीन्टल २ हजारमा खरिद बिक्री हुँदै आएको हो ।