भारतीयलाई नागरिकताको सिफारिस दिने धनगढीका वडाध्यक्ष छुटे
धनगढीः धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन् ।
भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिनेश खबरलाई जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जानकारी दिए ।
जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रहरीले जोशीलाई नागरिकता ऐन २०६३ बमोजिम कारवाही गर्न राय दिएको थियो ।
नागरिकता ऐनमा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।