सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण बढ्दो

२०७७ कार्तिक १६, ०५:०५ रासस

लन्डन : विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै  विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र  सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् । सङ्घका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र  यसका कारण कसैको पनि मृत्य भने भएको छैन ।

हालसम्म ४२  देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ । गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ । कोरोना भाइरसबाट सङ्क्रमितमध्ये  मुक्त हुनेहरुको सङ्ख्या बढेको छ । गत हप्तासम्म सङ्क्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकामा यो साता ७६ दशमलव नौ प्रतिशत पुगेको छ ।

उक्त सङ्घले अति आवश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरोनाका कारण बेलायत फ्रान्स, बेल्जियम र जर्मनीजस्ता मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न उक्त सङ्घले आह्वान गरेको हो ।

सङ्घका संयोजक डा. सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नाका साथै सार्वजनिक स्थलहरुमा निस्किँदा सकेसम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेका छन् ।

कमेन्ट लोड गर्नुस