जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो
जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ । साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् ।
जर्मनीमा कोरोना संक्रमण सुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् । जर्मनीमा यस कोभिड भाइरसको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि पछिल्लो समयमा यहाँ धेरै संक्रमितहरु देखिएको बताइएको छ । यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ ।
गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४५२ जना पुगेको छ । जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु पनि लगाइएको समाचार यसअघि नै आएको थियो ।
सरकारले यो भाइरसको प्रकोप बढ्दै गएकोले अझै कडा खालका लकडाउनका कार्यक्रमहरु पनि घोषणा गर्ने कि भनेर पनि परामर्श गरिरहेको बताइएको छ ।