सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विकास : काम अलपत्र, नगरवासीलाई सास्ती

२०७७ कार्तिक १५, ०३:१५ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुने सडक र नालीको काममा हात हालेका निर्माण व्यवसायीले काम अलत्रप छोडेपछि आवतजावत समस्या भएको छ ।

धनगढीको पार्क मोडमा झण्डै १ महिनादेखि नाली निर्माणको काम अलत्रप छोडिएपछि सडक अवरुद्ध रहेको छ । पार्कमोडमा निर्माण भैरहेको दोहोरो आरसीसी नालीको काम ठप्प भएको हो ।

४ सय ३९ मिटर नालीसहितको सडक कालोपत्रेको लागि धनगढी उप महानगरपालिकाले २ करोड १ लाख ३७ हजारमा उच्चाकोटी निर्माण सेवालाई ठेक्का दिएको छ । तर ठेकेदारले नालीको काम सुरु गरेर अधुरै छोडेपछि सो सडक भएर हुने आवागमन रोकिएको हो । जसले सास्ती खेप्नु परेको नगरवासीको गुनासो छ ।

४ पांग्रे सवारीले त साघुरो घुमाउँरो यात्रा गर्नुपर्ने अवस्था छ । पैदल, साइकल र मोटर साइकल सवारीले जोखिम मोलेर हिड्नुपर्ने भएको छ । धनगढीका अटो रिक्सा चालक अमृत शाहीले भने, ‘बाटो अबरुद्ध भएका कारण आवागमनमा समस्या भएको छ । नगरपालिकाकै अगाडी निर्माण कार्यमा ढिलासुस्ती भएको छ, भने अन्यत्रको अवस्था कस्तो होला ?’

धनगढी उपमहानगरपालिकाका अनुसार ढक्कनसहितको आरसीसी नालीसहित सडक कालोपत्रेको ठेक्का उच्चाकोटी निर्माण सेवाले पाएको छ । सो सडक र नालीको निर्माण सम्पन्न गर्ने म्याद २०७८ मंसिर मसान्तसम्म भए पनि काममा हात हालेर अलपत्र छोड्दा आवागमनमा नगरबासीले सास्ती खेप्नु परिरहेको हो । 

तर निर्माण व्यवसायीले भने आरसीसी नालीलाई बलियो बनाउन केही समयसम्म सुरक्षित राख्नुपर्ने भएकाले थप काम अगाडी नबढाएको बताएको छ । अबको ४/५ दिनमै सो अवरोध हट्ने बताउँदै निर्माण व्यवसायी सुरेन्द्रकान्त पन्तले भने, ‘ढलान भएको २३ दिन भयो । अबको ५ दिनमा हामी बाटो खोल्ने हो । स्ल्याब ढलान गरेर बनाउनुपर्ने भएकोले समय लागेको हो । चैतभित्रै काम सम्पन्न हुन्छ ।’

त्यस्तै, धनगढी उप महानगरपालिकाका इन्जिनीयर उपेन्द्र भट्टले पनि पार्क मोडमा स्ल्याब राख्नुपर्ने भएर बाटो अबरुद्ध भएको बताए । स्ल्याब राख्दा कम्तीमा २८ दिन राख्नुपर्ने भएकोले यो अवधिका लागि मात्रै डाइभर्सन गरिएको र केहि दिनभित्रै बाटो सुचारु हुने इन्जिनीयर भट्टले जानकारी दिए ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस