सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने अनुमति

२०७७ कार्तिक १५, १२:०८ खबर संवाददाता

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिबार बसेको मुस्लिम अगुवा र स्थानीय सरोकारवाला पक्षबीचको छलफलपछि सो अनुमति दिएको हो । धनगढी उपमहानगरपालिका १ स्थित नेपाली नूरी जामा मस्जितका कार्यबाहक अध्यक्ष महोमद यामिनले स्थानीय प्रशासनले शवको व्यवस्थापन सोही कब्रिस्तानमै गर्न दिने अनुमतिपछि शव व्यवस्थापनको तयारीमा लागेको जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाको १ नं वडा कार्यालयले कब्रिस्तान नै सील गरिएपछि २ दिनदेखि एक जना मृतकको शवको व्यवस्थापन हुन सकेको थिएन । शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो । तर शव व्यवस्थापन गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबार विहानदेखि शनिबार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका थिए ।
 

कमेन्ट लोड गर्नुस