सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा औलो–कालाजार नियन्त्रण अभियान तीव्र

२०८३ वैशाख २३, ०३:१५ खबर संवाददाता

धनगढी: कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्काउ अभियानलाई तीव्रता दिइएको छ। स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहहरूसँग सहकार्यमा जिल्लाभर अभियान सञ्चालन गर्दै आएको छ। विशेष गरी तराईका बस्तीमा संक्रमण देखिएकोले बिरामी भेटिएका घर तथा वरिपरिका क्षेत्रमा लक्षित रूपमा विषादी छिट्काइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लाभर ४ हजार ६ सय ९० घरमा विषादी छिट्काइएको छ। यसबाट ९ हजार १ सय ६ जनाले प्रत्यक्ष लाभ पाएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा १३३ जनामा औलो पुष्टि भएको छ। अघिल्लो आर्थिक वर्षमा २ सय ३१ र २०८०/८१ मा १३५ जनामा संक्रमण देखिएको थियो।

कालाजारका मामलामा सन् २०२४ मा ११, २०२५ मा ७ र २०२६ मा हालसम्म १ जना बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार दुई पहाडी स्थानीय तह बाहेक अन्य ११ स्थानीय तहमा अभियान सञ्चालन भएको छ। “बिरामी भेटिएका घर तथा वरपरका क्षेत्रमा प्राथमिकताका साथ विषादी छिट्काइएको छ,” उनले भने।

स्वास्थ्य कार्यालयका अनुसार साउन, भदौ, चैत, बैसाख र जेठ महिनामा विषादी छिट्काउने काम विशेष रूपमा हुने गरेको छ। अभियानसँगै सरसफाइ, पानी जम्न नदिनु, झ्याल–ढोकामा जाली प्रयोग, लामखुट्टेदेखि बच्ने उपाय र समुदायमा जनचेतना प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

सरकारले सन् २०२८ सम्म औलो र २०३० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य राखेको छ। कैलालीमा भइरहेको विषादी छिट्काउ अभियानले संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव देखाइरहेको भए पनि, पूर्ण नियन्त्रणका लागि निरन्तर निगरानी, प्रभावकारी सरसफाइ र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।


 

कमेन्ट लोड गर्नुस