अयोग्य व्यक्ति नै संगठनबाट बाहिरिएका हुन्, रोइलो नगर्नुहोस् : संयोजक महर
प्रताप ओली, बझाङ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु)का संयोजक ऐन महरले आफ्नो विरोध गर्नेले भविष्यमा पछुताउने बताएका छन् ।
प्रेस संगठन नेपाल बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा जवाफ दिदै संयोजक महरले अहिले विरोधमा उत्रनेहरु आफ्नो कमजोरीका कारण संयोजक नै जिल्लामा आएका बेला प्रत्यक्ष गुनासो राख्न नसक्ने र पछाडी विरोध गर्ने हुँदा भविष्यमा आफै पछुताउने बताएका हुन् ।
बझाङमा अनेरास्ववियू जिल्ला कमिटीको पूर्णता दिने विषयमा केही असन्तुष्ट स्वरहरु आएको प्रसंगलाई कोट्याउँदै संयोजक महरले संगठनको लागि योगदान नदिनेहरु र अयोग्य व्यक्ति नै बाहिरिएको हुँदा नयाँ गठित कमिटिप्रति रोइलो नमच्चाउन आग्रह गरे ।
एक फरक प्रसंगमा संयोजक महरले अब कोरोना भाइरससँग डराउन थाल्यो भने नेपाल धेरै पछाडी पर्ने बताएका छन् । सरकारले कोरोना भाइरसको रोकथाम लागि भन्दै भिडभाड, सभासम्मेलन नगर्न भनेको छ तर जिल्लामा तपाईले जहाँ पनि खुलेआम कार्यक्रम गर्दै हुनुहुन्छ किन हो भन्ने पत्रकारहरुको प्रश्नमा संयोजक महरले आफूबाटै भेलाका कार्यक्रम सुरु भएको बताएका छन् । अब सरकारले कोरोनाका लागि केही गर्न नसक्ने र जनताहरुले आफ्ना काम रोक्न नमिल्ने हुँदा आफू सुरक्षित हुने उपाय अपनाएर अघि बढ्न सबैमा आग्रह गरे ।
उनले सरकारले राम्रो काम गरिरहेको हुँदाहुँदै मिडियाहरु नै बढी अराजक बनेको दाबी गरेका छन् । मिडियामा आएका समाचार जनतालाई भ्रममा पार्न केन्द्रित रहेको उनको भनाइ थियो । प्रधानमन्त्री केपीशर्मा ओली अहिलेसम्मकै खुल्ला विचारधाराका र राष्ट्रवादी व्यक्ति रहेको उनले दाबी गरे । मनमा कुनै कुरा नलुकाउने र देशका हरेक समस्यासँग सजिलै सामना गर्ने सामथ्र्य भएका प्रधानमन्त्री एउटै केपी शर्मा ओली मात्रै रहेको उनको जिकिर थियो ।