सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा थुनामा युवकको मृत्यु प्रकरण : आत्महत्या गरेको छानविन समितिको निष्कर्ष

२०७७ कार्तिक १४, ०१:४८ खबर संवाददाता

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा मृत्यु भएका युवकले आत्महत्या गरेको छानविन समितिले निष्कर्ष निकालेको छ ।

गत भदौँ २६ गते जिल्ला प्रहरी कार्यालयको थुनामा धनगढीका १९ वर्षीय युवक रोशन बिकको मृत्यु अन्य कारण नभएर आत्महत्या नै भएको छानविन समितिले निष्कर्ष निकालेको प्रदेश प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले छानविन समितिले बुझाएको प्रतिवेदनमा बिकले आत्महत्या गरेको उल्लेख गरिएको बताए ।

‘उनको मृत्युको कारण स्वंयम उनी नै रहेको देखिएको छ ।’ प्रहरी वरिष्ठ उपरीक्षक सिहले भने, ‘शव परीक्षण रिर्पोटमा समेत आत्महत्या नै गरेको उल्लेख छ । तर हामी अझै घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौँ ।’

 बिक प्रहरी थुनामै रहेका बेला आत्महत्या गर्ने अवस्थामा किन पुगे ? भन्ने प्रश्नमा सिहले भने,  ‘ती सबै कुराहरु सुक्ष्म अनुसन्धानबाट खुल्छन् । अहिले ज्यान सम्बन्धि मुद्दा दर्ता भएको छ ।  त्यसको पछाडीका कारण के हुन् ? मानसिक रुपमा उनको अवस्था के थियो ? लगायतका कुरा अनुसन्धानपछि मात्र खुल्छ ।’ तर प्रहरीले प्रतिवेदन सार्वजनिक भने गरेको छैन् । 

चोरी आरोपमा पक्राउ परेका बिक थुनुवा कक्ष भित्रै रहेको सौचालयमा आफ्नै सर्टले झुण्डिएको अवस्थामा भेटिएपछि तत्कालै सेती प्रादेशिक अस्पताल पुगाइएपनि बचाउन नसकिएको कैलाली प्रहरीले बताउँदै आएको थियो ।

सो घटनाको छानविनका लागि सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजिव बस्नेतको नेतृत्वमा समिति गठन गरिएको थियो । पीडित पक्षले भने बिकले आत्महत्या नभई हत्या गरेको आरोप लगाएका थिए ।

सोही घटनामा कैलाली प्रहरीलाई उदृत गर्दै प्रकाशित भएको समाचारको विषयलाई लिएर एक समूहले भदौँमै दिनेश सञ्चार गृहमा आक्रमण समेत गरेको थियो ।

युवकको हत्या भएको तर सामाचारमा आत्महत्या लेखिएको भन्दै आक्रोशित समूहले सञ्चार गृहका पत्रकार र कर्मचारीमाथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका धनगढीका चक्र रावल, समीर विक र मिलन चन्द ३०÷३० हजार, कुबेर खड्का २५ हजार र प्रमोद खड्का २० हजार धरौटी बुझाएर छुटेका छन् । 
 

कमेन्ट लोड गर्नुस