सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमितको शव गाडिएपछि कब्रिस्तानमा तालाबन्दी कायमै, अर्को शव घरमै !

२०७७ कार्तिक १४, १२:०१ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका १ स्थित कब्रिस्तानमा तालाबन्दी गरिएपछि मृत्यु भएका एक मुस्लिम समुुदायको व्यक्तिको अन्तिम संस्कारमा समस्या भएको छ ।

कार्तिक १३ गते विहान कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको शव सोही कब्रिस्तानमा व्यवस्थापन गरिएको थियो । मानववस्ती संगै जोडिएको सो कब्रिस्तानमा संक्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध स्वरुप कब्रिस्तानमै तालाबन्दी गरे । तर स्थानीय प्रशासनले तालाबन्दी खुलाउन नसकेपछि अर्को शव व्यवस्थापनमा समस्या सिर्जना भएको हो ।

शुक्रबार विहान दुबै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको शव व्यवस्थापनमा समस्या भएको परिवारजनले दुखेसो पोखेका छन् । मृतकका छोरा सद्दाम जमसेदले भने, ‘हाम्रो संस्कार अनुसार कब्रिस्तानमै शव गाड्नुुपर्छ । तर हिजोको घटनाले तालाबन्दी गरिएपछि अन्तिम संस्कार गर्न पाएका छैनौ । विहानदेखि शव घरमै राखेका छौ ।’ 

मुस्लिम समुदायमा मृतकहरुको अन्तिम संस्कार तथा शव व्यवस्थापन कब्रिस्तानमै गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । उनीहरु कब्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनुपर्ने भन्दै स्थानीय प्रशासन संग माग गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कब्रिस्तानमा गरिएको तालाबन्दी र अर्को शव व्यवस्थापनको सवालमा मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षबीच छलफल गरिरहेको बताए ।

तर समस्याको निकास अझैसम्म कैलाली प्रशासनले दिन नसक्दा अन्योलता सिर्जना भएको हो ।

कमेन्ट लोड गर्नुस